
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना युवा उद्यमीलाई सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च बाँकेद्वारा सञ्चालित पावर परियोजना अन्तर्गत पाँच दिने लघु उद्यम व्यवसाय विकास तालिम प्रदान गरिएको छ।
युवाहरुलाई व्यवसाय सिर्जना र सुरुवात गर्न आवश्यक सीप, ज्ञान, र स्रोत-साधन सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित यो तालिम बिहीबार सम्पन्न भएको हो । तालिममा नेपालगञ्ज उपमहानगरपालिका समाजिक विकास शाखाका प्रमुख कृष्णप्रसाद जोशीले शाखाबाट प्रदान गरिने सेवा सुविधाबारे युवाहरुलाई जानकारी गराउनु भयो।
यस्तै, गुरुकुल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक टिकाराम चौधरीले बचत गर्ने बानी, नियमित बचतको फाइदा, तथा ऋण प्रवाहका लागि आवश्यक कागजात र ब्याजदर सम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो ।
तालिमको समापन कार्यक्रममा सामाजिक विकास मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार तथा पावर परियोजनाका फोकल पर्सन घनश्याम उपाध्याय, सेभ द चिल्ड्रेनका तर्फबाट फूलकुमारी चौधरी, सामाजिक विकास मञ्चका सदस्य राम श्रेष्ठ, पावर परियोजनाका संयोजक महेन्द्र चन्द्र, अनुगमन तथा मूल्याङ्कन अधिकृत शान्त चौधरी, परियोजना अधिकृत ब्रिजेश ठाकुर र फिल्ड अधिकृत सुमित्रा चौधरीको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण परियोजना अधिकृत ठाकुर र फिल्ड अधिकृत चौधरीले गर्नुभएको थियो । पाँच दिनसम्म चलेको यो तालिमले सहभागी युवाहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, स्रोत तथा व्यवस्थापनको ज्ञान प्रदान गरी आत्मनिर्भरतातर्फ अघि बढ्न प्रेरित गरेको छ ।
यस कार्यक्रममा युवा उद्यमीहरूले व्यवसाय योजना बनाएर तत्कालीन व्यवसाय सञ्चालन गर्ने योजना पनि बनाएका छन् र तालिमपूर्व ती युवा उद्यमीहरुलाई पाँच दिनको जीवन उपयोगी सीप सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो ।






