वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना अभियान संचालन

नेपालगन्ज । बाँके जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक अभियान संचालन गरिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक वन क्षेत्रका उपभोक्तालाई सचेतना अभिबृद्धि लगायतका कार्यक्रम संचालन गरेको छ ।

अहिले गर्मीको मौसममा वन डढेलोको उच्च जोखिम रहेकाले त्यसको न्युनीकरण तथा पुर्व तयारीका लागि साताव्यापी रुपमा सचेतनामुलक कार्यक्रम गरिएको हो । स्थानीय उपभोक्ता लगायतको सहभागितामा बाँके डुडुवा गाउँपालिकास्थित पशुपति सामुदायिक वनको कार्यालयबाट निस्किएको रयालीले बन क्षेत्र आसपास बस्तीको परिक्रमा गरि कम्दी मिलन चोकमा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा डिभिजन वन कार्यालय नेपालगन्जका वरिष्ठ अधिकृत राजबहादुर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ बाँके जिल्ला अध्यक्ष सावित्रा पुन, सामुदायिक वन उपभोक्ता महासंघ लुम्विनी प्रदेश सदस्य महेन्द्र शाही, सामुदायिक बन उपभोक्ता महासंघ बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारी, पलिकास्तरिय स्थानीय महासंघ खजुराका अध्यक्ष महाविर थारु, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज मोहन केसी, डुडुवा गाउँपालिका स्थानीय महासंघ अध्यक्ष बेलबहादुर बोहराले बन डढेलोको समस्या तथा नियन्त्रणको सावधानी बारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

र्यालीमा सहभागीहरुले वन डढेलो सम्वन्धी सचेतनामुलक सन्देश लेखिएको प्लेकार्ड र नारा लगाएका थिए । वन डढेलोले बोटबिरुवा, झारपात र अन्य वनस्पतिको नाश गर्दछ भने वन्यजन्तुहरूको आवासलाई नष्ट पार्छ र धेरै प्रजातिहरूको जीवनलाई संकटमा पार्छ । जंगली जनावरहरू र चराहरू अन्न र पानीको अभावमा प्रभावित हुने डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वन डढेलोले जल, माटो, र खनिजहरू जस्ता प्राकृतिक स्रोतहरूको नष्ट गर्छ भने भूमि मर्न र माटोको उपजाऊ क्षमतामा कमी ल्याउने गर्दछ । वन डढेलोको रोकथामका लागि विशेष ध्यान दिनुपर्ने स्थानीय बन विज्ञ डिल्लीबहादुर रावत बताउनुहुन्छ । उहाँले वन क्षेत्रको निगरानी, आगोको स्रोत नियन्त्रण, सम्भावित आगोका क्षेत्रहरूको सफाइ, आगो नियन्त्रण उपकरणको तयारी, वायु र मौसमको अध्ययन र सार्वजनिक सचेतना अभियान संचालन गर्ने बताउनुभयो ।

साताव्यापी कार्यक्रम अन्र्तगत बाँकेको नरैनापुर, राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा सचेतनामुलक अभियान संचालन गरिने स्थानीय महासंघका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो । बाँकेमा मध्यवर्ती र सामुदायिक गरि १ सय ७० वटा सामुदायिक वनहरु रहेका छन । गर्मीमा बन क्षेत्रमा डढेलोले ठुलो क्षति पुरयाउँदै आएको छ ।

Previous articleझडपपछि जयेन्दु बाल सुधार गृहबाट ३५ जनालाई अन्यत्र पठाइयो
Next articleपौडेलको अध्यक्षतामा समाजवादी महिला संघ लुम्बिनी गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here