
नेपालगन्ज । स्वावियु नेतृत्वका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भएको निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधबार सार्वजनिक मतपरिणामले केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको प्यानल बिजयी भएको हो ।
चुनाव मतपरिणामले क्रान्तिकारी दोस्रो र नेविसंघका उम्मेदवार तेस्रो भएका छन् । अनेरास्ववियुका शाहले ५ सय ९९ मत ल्याउँदा क्रान्तिकारीका हरेन्द्रबहादुर विकले ५ सय २७ मत ल्याउनुभयो भने नेविसंघका सन्तोष रावलले ३ सय ६४ मत ल्याउनुभएको छ ।
स्वावियू सचिवमा चिरन्जीवी बुढा, कोषाध्यक्षमा सुरेन्द्र रावल बिजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सदस्यहरुमा अमिश विक, बन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाय, निरज यादव, राजीव शाह, शिशिर सुवेदी र गोपाल आउजी विजयी हुनुभएको छ ।
नेविसंघको उम्मेदवारले कम ल्याए पनि समानुपातिकमा बढी मत ल्याएको छ । समानुपातिक मतमा अनेरास्ववियुले ६ सय २१, नेविसंघले ४ सय ९७ र क्रान्तिकारीले ३ सय ९० मत ल्याएका छन् । समानुपातिक मतलाई हेर्दा नेविसंघमा अन्तर्घात भएको देखिन्छ । नेविसंघमा उम्मेदवारलाई लिएर देउवा र कोइराला खेमाका बीचमा असमझदारी भएको थियो ।
४ हजार ६ सय ६० मतदाता रहेको महेन्द्रमा १ हजार ६ सय ९८ मत खसेको थियो । मंगलबार मतदान भएको थियो । देशका अधिकांश क्याम्पसमा सत्ता साझेदार दलका विद्यार्थी संगठनहरुबिच गठबन्धन भएपनि महेन्द्रमा नेविसंघ र अनेरास्ववियूले एक्लाएक्लै प्रतिष्पर्धा गरेका थिए ।
माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएर प्रतिष्पर्धा गरेको थियो । त्यसैगरी नागरिक विद्यार्थी, नयाँशक्ति लगायतले छुट्टै गठबन्धन गरेर चुनावमा उत्रिएका थिए ।
यो संगै बाँकेका तीन वटा क्याम्पसमा अनेरास्ववियुले जित हासिल गरेको छ । खजुरास्थित ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट अनेरास्ववियुका सर्विन महतो र नेपालगञ्ज नर्सिंङ्ग क्याम्पसमा अनेरास्ववियुकै देवर्चना अधिकारी निर्वाचित हुनुभएको छ ।





