
राप्ती सोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ ।
जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्ग नापजाँचको कामलाई तीब्रता दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो ।
आइतवार वडा नम्बर २ टिकुलीपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै उहाँले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । पालिका उपाध्यक्ष मनिषा सिंह थारुले वर्षौदेखि जोतभोग गर्दै आएपनि जग्गाधनी पूर्जा नपाउदाको पीडा अव हल हुने बताउनुभयो ।
‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ उहाँले भन्नुभयो, –‘अव ढुक्क हुनुहोस् तपाईले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाई नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का कार्यबहाक वडा अध्यक्ष दिर्घबहादुर बुढाथोकीले भूमिहीन समस्यालाई अव दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताउनुभयो । वडा नम्बर २ मा करीव २ हजार २०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
आइतवार ४४ जनालाई निस्सा वितरण गरिएको छ । निस्सा वितरण कार्यक्रममा निवर्तमान वडा अध्यक्ष मदन वली, भूमि शाखा प्रमुख टोपबहादुर भण्डारी, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।





