
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन चुनौती दिनुभएको छ । नेपाली कांग्रेस, बाँकेको शनिबार नेपालगन्जमा भएको जिल्ला सम्मलेनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गरेर राजसंंस्था फर्काउनसमेत चुनौती दिनुभयो ।
महामन्त्री शर्माले आफ्नै कर्मले राजाको विदाई भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने स्पष्ट पार्नुभयो । ‘आफू चुनाव लड्न नआए अरुलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस्’ उहाँको थप भनाई थियो-‘तर, राजसंस्थाको रेल छुटिसकेकाले अब त्यसमा सवार हुने सम्भावना छैन ।’
पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताउँदै महामन्त्री शर्माले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अब अन्तरविश्वासको नवीन कांग्रेस बनाउन हामी सबै कार्यकर्ता लाग्नुपर्छ, भन्नुभयो । महामन्त्री शर्माले सरकारको ध्यान सडकको प्रदर्शनभन्दा पनि राम्रो काम प्रस्तुत गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता देखाउनुपर्नेमा आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय नभएको टिप्पणी गर्नुभयो ।
सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेता–कार्यकर्ता इमान्दार र अनुशासित भएमात्रै पार्टी मजबुत हुने बताउनुभयो । उहाँले केही भएको छैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै त्यसमा सत्यता नभएको जिकिर समेत गर्नुभयो । केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान संशोधनको एजेण्डा बोकेपनि त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी लगायतका विषयमा गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सम्मेलनमा केन्द्रिय सदस्यहरु मैकुलाल बाल्मिकी, डा.गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन बोल्नुभएको थियो । यस्तै लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्री, कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाल मगर संघका केन्द्रीय सहमहामन्त्री उमा थापामगर, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा बाँके कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिवेदन पारित भएको छ । सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।
त्यसक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँकेको भित्तेपात्रो समेत विमोचन गर्नुभएको थियो । सम्मेलनमा जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव कोइरालाले गर्नुभएको थियो भने सभापति गौडेलको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो ।





