
नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलकमा दुई ठुला पार्टीले नेतृत्व गर्दासम्म समान विकास सम्भव नहुने बताउनुभएको छ । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकारको नेतृत्व गर्दासम्म देशका सबै क्षेत्रको समानव विकास हुन नसक्ने दावी गर्नुभएको हो ।
जसपा नेपाल बाँकेको नेपालगन्जमा आयोजना गरिएको एकता प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको समेत आरोप लगाउनुभयो ।
उहाँले मधेशमा बस्ने पछाडी परेका, पारिएका, अति विपन्न, पिछडा वर्गको विकासमा दुई नेतृत्वरत पार्टीले कहिल्यै नसोच्ने बताउनुभयो । सरकार असफल र निकम्मा भइसकेको भन्दै अध्यक्ष यादवले देशको अर्थतन्त्र चौपट भएको दावी गर्नुभयो । सरकारले आप्रवाशनलाई बढावा दिइरहेको बताउनुभयो । उहाँले सुशासनको साटो देशमा भ्रष्टाचार र कुशासन फैलिएकोसमेत उल्लेख गर्नुभएको थियो ।
परिवर्तन पक्षधर शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै अध्यक्ष यादवले जनतालाई सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी महासचिव राम कुमार शर्मा, केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य शैयद इस्तियाक अहमद शाह, अम्बिका काफ्ले लगायतले बोल्नुभएको थियो ।





