
विराट कोहलीले सबै सफलता चाखिसकेका थिए । भारतीय क्रिकेटका उत्कृष्ट खेलाडीमा सचिन तेन्दुल्करपछि विराटकै नाम आउछ। सचिन त विश्वकै उत्कृष्ट खेलाडी भइगए । यो हिसाबले विराटलाई सचिनपछिका विश्वकै उत्कृष्ट क्रिकेटरभन्दा पनि फरक पर्दैन ।
यसरी विश्व क्रिकेटमा आफ्नो ब्याटिङको जादूले धैरैलाई मोहित बनाएका विराटका लागि एउटा सपना भने पूरा भएको थिएन । विश्व क्रिकेटकै सबैभन्दा ठूलो, महँगो र लोकप्रिय लिग इन्डियन प्रिमियर लिग ९आइपिएल० उनले जित्न सकेका थिएनन् ।
सन् २००८ देखि सुरु भएको आइपिएलका २०२४ सम्मका संस्करणमा विराटले एउटै टोली रोयल च्यालेन्जर्स बेंगलुरूबाट खेले । प्रत्येक सिजन बेंगलुरू उपाधि दाबेदार भए पनि उपाधिको स्वाद भने चाख्न पाएन । मंगलबार अहमदाबादमा भने विराट र बेंललुरुको १८ वर्षको पर्खाइ समाप्त भयो ।
आइपिएल २०२५ को फाइनल खेलमा पञ्जाब किंग्सका ब्याट्सम्यान शशांक सिंह अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गर्न चुके तब बेंगलुरूको जित लगभग पक्का भइसकेको थियो । बेंगलुरू च्याम्पियन बन्ने पक्का भएसँगै सबैको ध्यान विराट कोहलीमै केन्द्रीत थियो ।
विराटका आँखा आँसुले भरिएका थिए । ती आँखाले उनको वर्षौंदेखिको अधुरो सपना पूरा भएको संकेत गरिरहेका थिए । अन्तिम ओभर सकिएर च्याम्पियनको औपचारिकता पूरा हुँनै लाग्दै विराट निकै भावुक बनिरहेका थिए ।
उनी कहिले आफ्ना रसाएका आँखाहरू लुकाउने प्रयास गर्थे त कहिले आकाशतिर हेर्थे । जब बेंगलुरूले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्यो, विराट कोहलीको खुसीको सीमा रहेन । उनी मैदानमै घुँडा टेकेर बसे र आफ्नो अनुहार हातले छोपे ।
जितले भावुक बनेका विराटले भने, ‘मैले कहिल्यै सोचेको थिइनँ कि यो दिन देख्न पाउँछु।‘ बेंगलुरूले विराटमाथि त्यतिबेला विश्वास गरेको थियो, जतिबेला उनले भारतीय राष्ट्रिय टोलीबाट डेब्यूसमेत गरेका थिएनन् ।
बेंगलुरू पहिलो पटक च्याम्पियन बनेपछि विराटले यो जित टोली र समर्थकहरूको बराबर भएको बताए । उनले भने, ‘यो १८ वर्षको लामो पर्खाइ थियो । मैले आफ्नो युवावस्था, मेरो उत्कृष्ट समय, मेरो अनुभव, सबैथोक यस टोलीलाई दिएँ । मैले कहिल्यै सोचेको थिइनँ कि यस्तो दिन आउँछ । अन्तिम बल फ्याँकिने बित्तिकै म भावविह्वल भएँ ।’
उनले थपे, ‘जस्तोसुकै परिस्थिति आए पनि म यही टोलीसँग रहिरहेँ । कहिलेकाहीँ फरक सोचेँ होला, तर पनि म यही टोलीमा टिकिरहेँ । मेरो मन बेंगलुरूसँग छ, मेरो आत्मा बेंगलुरू र यो टोलीसँग छ, र म आइपिएल खेलुन्जेल यही टोलीमा रहनेछु ।’
विराटले यो जितलाई आफ्नो करियरको सबैभन्दा अविस्मरणीय क्षणमध्ये एक भने । उनले भने, ‘आज म बच्चाजस्तै निदाउनेछु । लिलामीपछि धेरैले हाम्रो टोलीमाथि प्रश्न उठाएका थिए । तर हामीसँग जे थियो, हामी त्यसमा खुसी थियौँ । मेरो बारेमा त पहिले नै धेरै कुरा भनिसकिएको छ । यो जित बेङ्ग्लोरका लागि हो ।’
विराट कोहली सन् २००८ मा उनको नेतृत्वमा भारतीय यू १९ टोलीले विश्वकप जितेपछि चर्चामा आएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नभएका बेंगलुरूले उनलाई पहिलो सिजनमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
‘इन्डियन एक्सप्रेसु सँगको एक अन्तर्वार्तामा विराटले पहिलो सिजनको लिलामीबारे भनेका थिए, ‘लिलामी हुँदा हामी मलेसियामा थियौँ । हामीलाई प्रथम श्रेणीका क्रिकेटरका रूपमा २० लाख भारुमा अनुबन्ध गरियो । हामी अत्यन्तै खुसी थियौँ । २० लाख पाउनु हाम्रा लागि भावनात्मक कुरा थियो ।’
त्यसपछि विराट कोहलीले आइपिएल र अन्तर्राष्ट्रिय क्रिकेटमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । पहिलो सिजनमा उनले १३ खेलमा १६५ रन मात्र बनाएका थिए । तर २०१० सम्ममा उनको प्रदर्शनमा सुधार आयो र उनी पहिलो पटक एकै सिजनमा ३०० भन्दा बढी रन बनाउन सफल भए ।
सन् २०११ मा उनी बेंगलुरूको कप्तान नियुक्त भए । कप्तानको रूपमा उनले १६ खेलमा ५५७ रन बनाए र आरसीबी दोस्रो पटक आइपिएलको फाइनलमा पुग्यो । तर, महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्सले बेंगलुरूलाई उपाधि जित्नबाट वञ्चित गर्यो ।
अनेकौं वर्षको निराशापछि २०१६ को सिजनमा विराट कोहली एक अद्भूत अठोटका साथ मैदानमा उत्रिए । उनले एकै सिजनमा कैयौं कीर्तिमान बनाए । १६ खेलमा उनले कीर्तिमानी ९७३ रन बनाए, जसमा चार शतक र सात अर्धशतक सामेल थिए । बेंगलुरू तेस्रो पटक फाइनलमा पुग्यो । तर, यसपटक पनि सनराइजर्स हैदराबादसँग केवल ८ रनले पराजित हुँदा विराटको सपना फेरि अधुरै रह्यो ।
प्रत्येक सिजन कोहलीको ब्याटबाट रन त निस्कन्थ्यो, तर टोलीका लागि उपाधि जित्नु केवल सपना नै रहिरह्यो । च्याम्पियन बन्न नसकेको निराशाका बीच २०२३ को सिजन सुरु हुनुअघि विराटले आरसीबीको कप्तानी छाडे । तर, आरसीबीलाई च्याम्पियन बनाउने आफ्नो लक्ष्यमा उनी ब्याटबाट लगातार योगदान दिइरहे ।
२०२३ मा विराटको ब्याटबाट ६३९ रन निस्कियो भने २०२४ मा उनले ७४१ रन बनाए । यसैबीच, उनी आइपिएलमा आठ हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि बने । सन् २०२५ मा पनि विराटले बेंगलुरूलाई च्याम्पियन बनाउन कुनै कसर बाँकी राखेनन् । उनले १५ खेलमा ६५७ रन बनाए र अन्ततः आफ्नो १८ वर्षदेखिको अधुरो सपनालाई साकार भएको प्रत्यक्ष देखे ।
(बीबीसी हिन्दीमा प्रकाशित आर्टिकलको भावानुवाद)





