असार ४ र ५ गते नेपालगन्ज फाेटाे फेस्टिवल हुने

नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ ।

अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसंगै फोटोग्राफि तालिम पनि सन्चालन हुने भएको हाे । फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरवाट सहभागी फोटो मध्ये निर्णायक मण्डलले छनौट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयाे ।

उहाँका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ ।

वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो । साथै फेस्टिवलको कोअर्डिनेटरको जिम्मेवारी पत्रकार निशु जोशीलाई प्रदान गरिएको छ । जोशीले फेस्टिवलको दोस्रो संस्करणमा वर्ष फोटो उपाधी जित्नुभएकाे थियाे ।

यसैगरी पहिलो संस्करणमा रुकुमका मैत्या घर्ती मगर र तेस्रो संस्करणमा मुगुका पत्रकार राज बहादुर शाहीले उपाधि जित्नुभएकाे थियाे । १ सय ११ फोटोमध्येवाट निर्णायकहरुले सर्वोत्कृष्ट फोटो छनौट गर्नेछन् । यस फोटोलाई  वर्ष फोटो –२०८१ अवार्ड प्रदान गरिनेछ ।

नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको यो सवैभन्दा ठूलो र मुख्य पुरस्कार हो । यसको पुरस्कार राशी ५१ हजार १ सय ११ रुपैयाँ  र प्रमाणपत्र रहेको छ । राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशैभरवाट उत्साहजनक रुपमा सहभागिता जनाउने सवैलाई धन्यवाद दिंदै आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले २ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा सवैलाई आमन्त्रण गर्दै भन्नुभयाे- ‘यो प्रदर्शनीमा सिंगो नेपाल झल्किनेछ।’

भोटका आधारमा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने
यसवर्ष फोटोग्राफरका फोटोहरुमध्ये सर्वाधिक भोट प्राप्त गर्ने फोटोले पनि पुरस्कार प्राप्त गर्ने भएको छ । फेस्टिवलका निर्णायकहरुले छनौट गरेका शीर्ष ३१ फोटोहरु भोटिङका लागि अनलाइन राखिएको छ । इसेवा मार्फत मन परेको फोटोमा भोट गर्न सकिने छ । भोटिङ पार्टनर ईसेवा रहेको छ ।

आगामी असार ५ गते दिउँसो १ वजेसम्म उक्त फोटोहरुमा भोट गर्न सकिने छ । सर्वाधिक भोट पाउने फोटोलाई यसवर्षको पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ भने यसको पुरस्कार राशी ५० हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । शीर्ष ३१ मा अम्वीर तोलाङ, बबी साईं, तील थापा मगर, शंकर भुजेल, संजय महर्जन, अमित रावल, रोमिन थारु, आर्यन धिमाल, विजय थापा, तिलक गाहा मगर, भूवन श्रेष्ठ, दिलचन पुन, हिमाल गैरे, जीवन लामा, केशव न्यौपाने, रामु वली, ब्रम्ह बुढा, मनोज पौडेल, शंकर भुजेल, मैत्या घर्ती मगर र विनय रावलको फोटोहरु पिपुल्स च्वाइस अवार्डका लागि चुनिएका छन् ।

फोटो प्रतिस्पर्धामा देशैभरवाट २१ सय भन्दा बढी फोटो प्राप्त भएकाे थियाे । विधागत उत्कृष्ट पुरस्कार यसवर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन,  कृषि, संस्कृति,  वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरि प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् ।

हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद  र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यसवर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने भएको छ ।

Previous articleबाँकेमा बाढी विपद्को कृत्रिम घटना अभ्यास
Next articleमेयर कप महिला तथा पुरुष भलिबल : आदर्श र धम्बोजी मा.बि. प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here