
एजेन्सी, नयाँ दिल्ली । भारतले कोरोना भाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाउनुभएको छ ।
सिरम इन्स्चिट्युड अफ इन्डियाको ुकोभिसिल्डु र भारत बायोटेकको ुकोभ्याक्सिनु खोपलाई अनुमति दिएको हो । सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो । गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।
केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए । सेरम संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । उसले अहिले नै अक्सफोर्ड र अस्ट्राजेन्का खोपको ५ करोड डोज बनाइसकेको छ । सेरमले यो खोप भारत सरकारलाई प्रति डोज २ सय ५० र निजी क्षेत्रलाई १ हजार भारूमा बेच्न लागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
भारत बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे भने विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ । भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन् ।





