
नेपालगन्ज । देशकै पहिलो कुलिङ सेन्टर (शितलन केन्द्र) नेपालगन्जमा निर्माण भएको छ । निर्मित (शितलन केन्द्र) को शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरी संचालनमा ल्याइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा नेपालगन्ज वडा नम्बर ४ बसपार्कमा सो शितलन केन्द्रको निर्माण गरिएको हो ।
केन्द्रको उद्घाटनमा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा रहेको नेपालगन्जमा पहिलो पटक कुलिङ सेन्टर बनाइएको बताउनुभयो । उहाँले तातो हावाको लहर (लु) प्रतिकार्य योजना अनुरुप यात्रुहरुलाई लक्षित गरी बसपार्कभित्र यसको निर्माण गरिएको बताउनुभयो ।
उपमहानगरपालिकाको २७ लाख लागतमा निर्माण सम्पन्न भएको कुलिङ सेन्टर संचालनका लागि नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ । वातावरणमैत्री सेन्टरमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानीलगायत सुविधा रहेको छ ।
१२९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको छ । रेडक्रसले १–१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको छ ।





