
नेपालगन्ज । नेपाल प्रहरीकाे हवलदार पदमा चिडिमार समुदायबाट पहिलाे व्यक्तिका रूपमा नियुक्त हुन सफल अवधेश चिडीमार सम्मानित हुनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अवधेशलाई आईचबार एक कार्यक्रमकाे आयाेजना गरि सम्मानित गरिएको हाे ।
वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यको उपस्थितिमा बहेलिया चिडीमार विकास समाज बाँकेले अवधेशलाई सम्मान प्रदान गरेको हाे ।
सम्मानपछिकाे सम्बाेधनमा वडा अध्यक्ष बज्राचार्यले चिडीमार समुदायका युवाहरूले पनि मेहनत, लगनशीलता र निरन्तर प्रयासद्वारा सुरक्षाकर्मी जस्तो जिम्मेवार पदमा पुग्न सक्ने उदाहरण अवधेशले प्रस्तुत गरेको बताउनुभयाे ।
स्थानीय अगुवा, समाजसेवी तथा समुदायका सदस्यहरूको उपस्थितिमा अवधेशलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।
चिडिमार समुदायका अगुवाका अनुसार चिडीमार समुदायबाट नेपाल प्रहरीमा पहिलो पटक हवलदार पदसम्म पुग्नु ऐतिहासिक उपलब्धि रहेकाे र यसले भविष्यमा अन्य युवाहरूलाइ पनि प्रेरणा प्रदान गर्नेछ ।





