नेपालगन्जमा दाेस्राे पटक बजार अनुगमनमा पाँच जना बालश्रमिक फेला

नेपालगन्ज । बालश्रम बिरुद्ध अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार नेपालगन्ज बजारमा संयुक्त अनुगमन गरेको छ ।

बालश्रम बिरुद्ध अभियान सुरु गरेको नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार नेपालगन्जको बिभिन्न क्षेत्रमा अनुगमन गरेको हो ।

नेपालगन्जलाई बालश्रम मुक्त बनाउन योजनाबद्ध कार्यक्रमहरु निर्माण गरिएको उपमहानगरपालिकाका बाल कल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताउनुभयो । उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका निर्माणका लागि पनि यहाँ बालश्रम मुक्त हुनुपर्ने पुरीले बताउनुभयो ।

मंगलबार नेपालगन्जका ग्यारेज, फर्निचर पसल, इलेक्ट्रिक स्कुटी र इलोक्ट्रोनिक मर्मत पसलमा अनुगमन गरिएको थियो । सो अनुगमनबाट पाँच जना बाल श्रमिक फेला परेका छन् ।

भेटिएकाहरुमा ग्यारेजमा एक ११ वर्षका बालक, फर्निचर पसलमा १४ देखि १८ वर्षका दुई बालक, इलेक्ट्रिक स्कुटी पसलमा १५ वर्षका एक बालक, इलोक्ट्रोनिक पसलमा १६ वर्षका एक बालक बाल श्रममा रहेको भेटिएको बाल कल्याण अधिकारी पुरीले जानकारी दिनुभयो ।

पाँच जनामध्ये एक ११ वर्षीय बाललाई परिवारको जिम्मा लगाएको विद्यालय भर्ना गराउने प्रक्रियामा तयारी गरिएको पनि उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखसमेत रहनुभएकी पुरीले बताउनुभयो ।

यसका साथै अनुगमन गरिएको व्यवसायीक प्रतिष्ठानहरुलाई बालश्रम सम्बन्धिको कानून कसैले बालबालिकालाई बालश्रममा लगाएको भेटिएको खण्डमा दण्डित गरिने चेतावनी दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बालश्रमिक राख्नेहरुमाथि निगरानी बढाएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिकाले बजारमा बालश्रमिकहरु बढेको र खुलेआम रोजगारदाताले बालश्रमिक राखेको भन्ने जनगुनासो आएपछि निगरानी बढाएको हो ।

होटल, मिठाई पसल, बार, दोहोरी साँझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा, भरिया, फर्निचर पसल, घरेलु कामदार, छापाखाना लगायतका क्षेत्रमा बालश्रमिकको संख्या बढेको जनगुनासोपछि छड्के अनुगमन थालिएको पुरीले बताउनुभयो ।

रोजगारदाताहरु खुलेआम बालश्रम निषेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलाप गएको देखिएकोले नेपालगन्ज उपमहानगरपालिकाले जोखिम क्षेत्रको कार्यतालिका नै बनाएर अनुगमन सुरु गरिएको छ ।

Previous articleबीपी कोइरालाको ४३ औं स्मृती दिवसमा खजुरा-६ भानु माविमा वृक्षारोपण
Next articleट्राफिक सचेतना प्रवाह गर्न जुटे मंगल माविका विद्यार्थी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here