ट्राफिक सचेतना प्रवाह गर्न जुटे मंगल माविका विद्यार्थी

नेपालगन्ज । नेपालगन्जमा स्काउटका विद्यार्थी ट्राफिक सम्बन्धि सचेतना प्रवाह गर्ने कार्यमा जुटेका छन् । स्थानीय मंगल प्रसाद माध्यमिक विद्यालयमा अध्ययनरत स्काउट समूह बढ्दो सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान सुरु गरेको छ ।

पछिल्लो वर्ष जिल्लामा सवारी साधन दुर्घटनामा बृद्धि भएको छ । गत एक वर्षको दुर्घटनाको विवरण हेर्दा सडकमा सवारी साधनबाट हुने जोखिम बढ्दै गएको छ । जस अनुसार एक वर्षमा तीन तिहाई दुर्घटना बढेको छ ।

विद्याललयका विद्यार्थीहरुले नेपालगन्जमा साता व्यापी सचेतना अभियान संचालन गरिएको विद्यालयका शिक्षक इन्द्रसिंह डाँगीले बताउनुभयो । आमरुपमा सडकमा हिड्ने सबैलाई कसरी बाटो काट्ने कहाँबाट काट्ने, कति बेला काट्ने जस्ता कुराका साथै बाटोमा हिड्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी हुनुपर्ने शिक्षक डाँगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तर सबैमा यस्तो खालको सचेतना नहुँदा दुर्घटना हुने गरेको छ । ट्राफिक कार्यालयको सहकार्यमा विद्यार्थीहरुले यो अभियान संचालन गरेका छन् ।’ यस अन्तर्गत स्काउटमा आवद्ध विद्यार्थीहरुले धम्बोझी चोकमा सवारी साधन संचालनमा सहजता प्रदान गर्ने, बाटो काट्नेलाई सही निर्देशन दिने र बाटोमा हिड्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी प्रदान गर्ने शिक्षक डाँगीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले साता दिनसम्म यो सचेतना प्रदान गर्ने छन् । ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक नन्द पोखरेलले विद्यार्थीहरुलाई ट्राफिक नियमबारेमा तालिम प्रदान गरेपछि सचेतना अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुले प्रत्येक साँझ एक घण्टा चोकमा सचेतना प्रदान गर्ने गरेका छन् । यसले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गर्न र ट्राफिक नियमका बारेमा स्वंय जानकार बन्न सहयोग मिल्नेछ ।

यसका साथै यस्तो खालको कार्यमा अन्य विद्यालयहरुलाई सडक सचेतना प्रदान कार्यमा अग्रसर हुन प्रेरित गर्ने र सडक सुरक्षाका बारेमा धेरै भन्दा धेरैलाई ट्राफिक सन्देश प्रवाह हुने मुख्य उद्देश्य रहेको पोखरेलले बताउनुभयो । पछिल्लो समय बाँकेमा दुर्घटनाको दरमा तीब्र बृद्धि भएको छ । जिल्लामा भएको दुर्घटनामा अधिकांशमा चालकको लापरबाही देखिएको पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार मापसे, बिना हेलमेट, तीव्र गति, लेन विपरीत, दुई जनाभन्दा बढी चढाउने, ट्राफिक नियमितविपरीत सवारी चलाउँदा बढी दुर्घटना भएको छ । अन्य सवारी दुर्घटनामा पनि मुख्यतः चालकको लापरवाही, मापसे, तीव्र गति, अनावश्यक प्रतिस्पर्धा, क्षमताभन्दा बढी यात्रु चढाउने, हेलचेक्र्याइँका कारण रहेको छ । तथ्याँक अनुसार बाँकेमा गत आर्थिक वर्ष २०८१-०८२ मा ५७७ वटा सवारी दुर्घटना भएका छन् ।

जसमा ८५२ वटा सवारी साधन संलग्न छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल ४८५, टेम्पो १०५, जिप कार ८०, साइकल ६४, बस ३२, ट्रक ट्याङ्कर ३१, माइक्रो २३, ट्याक्टर १६, टिप्पर ८, अन्य ७ र डोजर/लोडर/स्काभेटर १ गरी ८५२ सवारीसाधन दुर्घटनामा परेका हुन् ।

Previous articleनेपालगन्जमा दाेस्राे पटक बजार अनुगमनमा पाँच जना बालश्रमिक फेला
Next articleराप्ती सोनारीको नन्कौपुरमा ग्रामीण महिला लक्षित स्वास्थ्य शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here