
नेपालगन्ज । नेपालगन्जमा रहेको नाथम कलेज यहाँबाट सर्ने भएको छ । कलेज संचालनका लागि सहज वातावरण वन्न नदिएका कारण अन्ततः यहाँबाट सरेको जानकारहरुको भनाई छ । सो कलेज अब सुदुरपश्चिम प्रदेशको कैलालीमा संचालन हुने भएको छ ।
करिब ३ वर्षअघि नेपालगन्जस्थित रामलीला मैदानमा रहेको नारी विकास केन्द्रको कार्यालय भवनमा यसको कार्यालय स्थापना गरेर कलेजको गतिबिधि अगाडी बढाइएको थियो । सो कार्यालयको औपचारिकरुपमा उद्घाटनसमेत गरिएको थियो । कलेजले आफ्नो शैक्षणिक गतिबिधि अगाडी बढाउने तयारी पनि गरिरहेको थियो ।
कक्षा सञ्चालनका लागि कन्या कलेजमा भवन व्यवसथापन गरिएको थियो । यसले यस क्षेत्रका आम विद्यार्थीहरुमा खुशी थपेको थियो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन क्षेत्रका लागि योग्य जनशक्ति उत्पादन गर्न नाथमले महत्वपूर्ण भूमिका निर्वाह गथ्र्यो तर हाल नेपालगन्जबाट नाथम सर्ने तय भइसकेको छ ।
कलेजले सञ्चालन गर्ने पर्यटन तथा होटल म्यानेजमेन्टका एकेडेमिक कक्षा र छोटो अवधिका सीपमूलक नन–एकेडेमिक तालिमबाट पश्चिम नेपालकै पर्यटन क्षेत्रले लाभ पाउने थियो । यसले कलेजबाट उच्च शिक्षा लिने विद्यार्थीहरूलाई विश्वका स्तरीय पर्यटन तथा होटल प्रतिष्ठानले रोजगारीमा सहजै लिने अवस्था निर्माण हुने नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उहाँका अनुसार कलेजलाई प्रदेश स्तरमै विस्तार गर्न सकिएको भए होटल र पर्यटन क्षेत्रले दक्ष जनशक्ति सहजै पाउँथे ।
कलेज संचालनका लागि भनेर नेपालगन्ज उपमहानगरपालिका बोर्डले सोल्टी होटेलको छेउँमा २२ कठ्ठा जग्गा लिजमा लिएर दिने निर्णयसमेत गरेको थियो । पर्यटन मन्त्रालयले नाथम बोर्डमार्फत त्यतिबेला राजधानी काठमाडौं बाहिर कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरेको थियो । त्यसक्रममा कार्यदलले नेपालगन्ज, बर्दिबास र बिर्तामोडमा कलेज स्थापना हुने उपयुक्त हुने सिफारिस गरेको थियो ।
साबिकको मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्र (हालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २४ जिल्ला) ले लाभ लिन सक्ने भएकाले लुम्बिनी प्रदेशमा नाथमले कक्षा सञ्चालन गर्नुपर्नेमा यहाँका सरोकारवालाको माग थियो । हामीले सुरुमै यहाँ कलेज संचालनका लागि भनेर अघिल्लो नगर बोर्डले गरेको निर्णय अनुसार आवश्यक जग्गा सुरक्षित राखेको थियौं, नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले भन्नुभयो, तर राजनीतिक दवाबका कारण कलेज यहाँ संचालन नहुने भयो ।
पर्यटन तथा होटल व्यवस्थापन अध्ययन प्रतिष्ठान नेपाल (नाथम) ले नेपालगन्जमा कलेज सञ्चालन गर्न लागेकै बेला राजनीतिक चलखेलको आशंका गरिएको थियो । राजनीतिक चलखेलकै कारण त्यतिबेलै कक्षा सञ्चालनमा ढिलाई भएको थियो । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नै नदिएर सुरुवाती चलखेललाई प्रश्रय दिएको नाट्टाका अध्यक्ष सिग्देलले आरोप लगाउनुभयो ।
‘नेपालगन्जमा नाथम स्थापना नहोस् भनेर पहिलेदेखि नै चलखेल भएको थियो’, सिग्देलले भन्नुभयो, ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका उनीहरुको लगानीका निजी कलेजलाई नोक्सान हुने निष्कर्षमा शैक्षिक माफियाहरु चलखेल गरेकै हुन ।’ सिग्देलका अनुसार कलेज नेपालगन्जमा सञ्चालन भएको भए बार्षिक ६ सय ४० एकेडेमिकतर्फका विद्यार्थी र सयौं ननएकेडेमिक प्रशिक्षार्थीहरुले प्रत्यक्ष लाभ पाउने थिए ।
सरकारको पूर्ण स्वामित्वको कलेज बाँकेमा स्थापना हुँदा एउटा जिल्ला मात्र नभएर पश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि कोसेढुंगा हुने थियो । ‘यति महत्वपूर्ण संरचना नेपालगन्जमा बन्न लाग्दा यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सरोकारवालाले पटक्कै चासो दिएनन् ।’, सिग्देलले भन्नुभयो ।





