
काठमाण्डौं । काठमाण्डौंको पशुपति आर्यघाटमा शव दाहसंस्कार गरिरहँदा हड्डी निकालेर बिक्री गरेको घटनामा पक्राउ परेका दुई जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
दुई जनामाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।
प्रहरीले काभ्रेका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरका २४ वर्षीय विनायक मैनालीलाई पक्राउ गरेको थियो ।
उनीहरूले शुक्रबार दिउँसो पौने ३ बजे पशुपतिमा चितामा जलाउँदै गरेको शवबाट एउटा हड्डी निकालेको आरोप लागेको हो ।
हड्डीलाई बट्टामा राखेर ४र५ सय रुपैयाँमा बिक्री गरेको आरोप उनीहरूमाथि छ । पक्राउ परेका जीवनाथ घाटे बाहुन हुन् । अर्का सहयोगी हुन् ।
यसमा हड्डी किनेका भनिएका व्यक्ति भने फेला परेका छैनन् । कुन प्रयोजनका लागि उक्त हड्डी निकालिएको थियो भन्ने पनि खुलेको छैन ।





