
प्रेम सिंह, नेपालगन्ज । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिकोत्सव मनाइएको छ । संस्थाले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर सो वार्षिकोत्सव मनाएको छ ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालयका तालिम तथा जनशक्ति विभागका विभागिय प्रमुख, सञ्चालन तथा सुपरिवेक्षण कार्यालयका फोकल पर्सन खगेन्द्र प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा र सुपरिवेक्षण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख धन प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले संस्थाले कर्मचारी र ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि र सामाजिक क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी आफ्नो व्यवसायिक गतिविधिलाई सुदृढ बनाउन लागेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममार्फत नेपालगन्ज अन्तर्गतको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था खाजुरा शाखालाई उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको छ ।
सो सम्मान खजुरा शाखाका प्रबन्धक बासुदेव रेग्मीलाई प्रदान गरिएको थियो । यस्तै ग्रामीण क्षेत्रमा स्व–रोजगारको अवसर सिर्जना गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै संस्था नाफा मुखिमात्र नभएर सेवामुखी भावनालेसमेत विभिन्न कार्यहरू गरिरहेको कार्यक्रमका अध्यक्ष तिवारीले बताउनुभयो ।
संचालन तथा सुपरिवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ३० वटा शाखा कार्यालयहरुबाट छनोट गरिएका ३० जना उत्कृष्ट महिला सदस्यहरुलाई जनही दश हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको छ ।
नेपाल सरकारको ३० प्रतिशतबढी लगानी रहेको संस्थाले नेपालको ग्रामीण दूरदराजका विपन्न तथा पिछडिएका वर्गमा वित्तीय पहुँच पु¥याई उनीहरूको आर्थिक, सामाजिक क्षेत्रको सवलिकरण र राष्ट्रको गरिबी न्यूनीकरणमा प्रतक्ष्य सहयोग पु¥याउँदै आइरहेको छ । कार्यक्रमलाई संस्थाकी उपप्रबन्धक लक्ष्मी कुमारी पौडेलले संचालन गर्नुभएको थियो ।





