थारू बाहुल्य बस्तीमा अट्वारी पर्वको रौनक

नेपालगन्ज । थारू बाहुल्य भएको गाउँबस्तीमा अट्वारी पर्वको रौनक छाएको छ । यस वर्ष यही भदौ ८ गते धुमधामका साथ सो पर्व मनाइँदै छ ।

यो पर्वमा थारू जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने गरेको जनाउँदै भीमको पूजाको तयारीमा जुटेको बाँके रझेनाका थारू अगुवा दिनेश चौधरीले बताउनुभयो ।

उहाँले यो चाड श्रीकृष्ण अष्टमीपछिको पहिलो आइतबार मनाइने भएकोले अटवारी भनिएको र सो दिन अधिकांश थारू समुदायका पुरुषहरु दिदीबहिनीका लागि व्रत बस्ने बताउनुभयो ।

यस्तै, कोहलपुर मैटहवाका थारू अगुवा राजेन्द्र चौधरीले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा दोस्रो दिन बिजोडी थरीथरीका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो ।

यस्तै, बर्दिया राजापुरका थारू अगुवा सोम डोमेनदौरा चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी पर्व भएकोले यो अतिनै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’ लाई लिइने गरिएको बताउनुभयो ।

बर्दिया राजापुरकै अर्का थारू अगुवा भीमसेन चौधरीका अनुसार थारू समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारू बसोबास गरेको ठाउँ) मा पुगेका थिए ।

सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने गरेको थियो । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारू समुदायमा रही आएको छ ।

उहाँका अनुसार व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारू अगुवा चौधरीले बताउनुभयो । थारू समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारू अगुवाहरुले जनाएका छन् ।

Previous articleआइतबार लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
Next articleतीज बिशेष लेखनवृत्ती प्रतियोगिता: लक्ष्मी बिसीको लेख प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here