तालाबन्दीका कारण डुडुवामा दुई सातादेखि सेवा प्रभावित

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा दुई सातादेखि गाउँपालिकाको दैनिक कार्य संचालन रोकिएको छ । गाउँपालिका कार्यालयमा केही व्यक्ति पसेर गाउँपालिकाको केही सामानहरुमा आगजनी गरे फरार घट्नाले पालिकाको कार्य संचालनमा बाधा बनाएको हो ।

जेनजीको नाममा गाउँपालिका कार्यालयमा केही व्यक्तिहरु पसेर लेखा शाखालगायत शाखाबाट केही कागजात निकालेर जलाएको गाउँपालिकाले भन्दै आएको छ । त्यसपछि निर्वाचनका समयदेखि नै बिपक्षमा रहेकाहरुले घट्नाको छानबीनको माग गर्दै गाउँपालिका कार्यालयभित्रको अनुगमन र बिरोध कार्यक्रमले गाउँपालिकाको कामकाज शून्य बनाएको छ ।

दुई साताअघि तालाबन्दीबन्दीसँगै गाउँपालिकाको सम्पूर्ण सेवाहरु ठप्प भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर दुई सातादेखि सम्पूर्ण सेवाहरु ठप्प भएको जनाएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पत्रकार सम्मेलनमा आगजनीको घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही र गाउँपालिका संचालनको पहल गरिदिन प्रशासनलाई अनुरोध गरेको बताउनुभयो ।

उहाँले यतिका दिनसम्म गाउँपालिकामा भएको समस्या समाधानका लागि पहल गरिदिन प्रशासनलाई अनुरोध गरेपनि हालसम्म पहल नभएको बताउनुभयो । गाउँपालिकाले छानबीन समिति समेत बनाएको छ । अध्यक्ष चौधरीले गाउँपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको बताउनुभयो ।

सो समितिमा डुडुवा वडा नम्बर १ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र शिवकुमार मौर्य सदस्य रहनुभएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताउनुभयो । अध्यक्ष चौधरीले प्रशासनले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानूनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखि नेपालगन्ज केन्द्रीत आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।

गत भदौं २५ गते अन्दाजी साँझ साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अज्ञात समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै अर्को समुह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत-जावत गरी नगर प्रहरीलाई धम्की दिएका थिए । त्यसको भोलिपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पुर्वमन्त्रीद्धय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०÷३२ जनाको संख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको बताइएको छ ।

Previous articleपत्रकार महासंघ बाँकेको वेबसाइट सार्वजनिक
Next articleडा.कुर्मी फोकल पर्सन रहनेगरी भेरीमा ‘जेनजी क्लिनिक’ स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here