
नेपालगन्ज । सरकारले देशका विभिन्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरेको छ । यस क्रममा बाँमेमा आन्दोलनका घाइतेहरुको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको छ ।
घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले गृह मन्त्रालयको निर्णय बमोजिम नेपालगन्जको भेरी अस्पतालसहित देशभरका १६ अस्पतालहरुमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको हो ।
भेरी अस्पतालका निमित्त मेसु डा.आनन्द कर्णद्वारा जारी सूचना अनुसार अस्पतालको इमर्जेन्सी विभागबाट सेवा दिने गरि जेनजी क्लिनिक स्थापना गरिएको छ । त्यसका लागि मेडिकल अधिकृत डा.राहुल कुर्मीलाई फोकल पर्सन तोकिएको छ । अब जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निःशुल्क आउ–जाउको व्यवस्थासमेत मिलाइएको मन्त्रालयले जनाएको छ ।
एकपटक उपचार गरी पटकपटक फलोअपमा जानुपर्ने घाइतेहरुका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने छन् । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।
लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।





