प्रकृतिको काखमा रहेको ‘बर्फानी बाबा’ क्षेत्रमा लगानी आवश्यक’

नेपालगन्ज । बाँकेको राप्ती सोनारी वडा नम्बर ४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । नेपालगन्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको हा ।

धार्मिक पर्यटनका रूपमा विकास हुन थालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उहाँले बाँकेको राप्ती सोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’ को मन्दिर धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएकाले भौतिक पूर्वाधारको विकासमा अझै विकास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा छ वर्षअघि रु ३० लाख लागतमा मन्दिर निर्माण गरेको जानकारी दिँदै बाटो निर्माणमा पनि रु २८ लाख खर्च गरिएको बताउनुभयो ।

खानेपानीको व्यवस्थापन थिएन, भक्तजन बस्ने कुनै प्रबन्ध थिएन तर अहिले सबैको व्यवस्थापन भएको पूर्वअध्यक्ष थारूको भनाइ छ । मन्दिर क्षेत्रमा अझै पनि शौचालय व्यवस्थापन हुन सकेको छैन । चौधरीले आवतजावत गर्न अझै कठिनाइ झेल्नुपरेको जानकारी दिँदै पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो । ‘बर्फानी बाबा’ मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनि आगो लाग्दा कुटीमा कठिनाइ झेल्नुपरेको बताउँदै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताउनुभयो ।

भारतीय पत्रकार एसके मदेशियाले प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको उल्लेख गर्दै मन्दिर जानका लागि आवजातवत गर्नलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय पत्रकार विमला चौधरीले विगतमा भन्दा ‘बर्फानी बाबा’ मन्दिरको स्वरुपमा परिवर्तन भएको बताउनुभयो । केही वर्षअघि मात्रै रु ७० लाख खर्च गरेर खानेपानीको व्यवस्थापन गरिएको सो मन्दिरमा प्रदेश सरकारले पनि बर्सेनि बजेट लगानी गरिरहेको छ ।

Previous articleनेपालगन्जमा ट्यांकरले लियो एक तरकारीवाला युवाको ज्यान
Next articleइस्लामी संघ नेपालद्वारा जागरण अभियान सुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here