बाँकेमा नियम उल्लंघन गरी यात्रु ओसारपसार गर्ने ५७ विद्युतिय भ्यान नियन्त्रणमा

सन्तोष शाही,
बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले नियम उल्लंघन गरी सार्वजनिक स्थानमा यात्रु बोक्ने ५७ इभी भ्यानलाई नियन्त्रण लिएर यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पठाएको छ ।

बाँकेमा अधिकांस यात्रु बोक्ने विद्युतीय सवारी साधनका चालक र सवारिधनीहरुले रुट परमिट नलिई सार्वजनिक स्थानमा यात्रु बोक्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिन थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर कनक शाहीले बताउनु भयो ।

शाहीका अनुसार सार्वजनिक रूपमा चलाइरहेका विद्युतिय भ्यानहरू निजी प्रयोजनका लागि दर्ता भएपनि अनुमतिबिना यात्रु ओसारपसार गर्दा नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालयलाई जिम्मा लगाउने कार्य भइरहेको छ ।

उहाँले अहिले सार्वजनिक स्थानमा चल्ने विद्युतिय सवारीमाथि छड्के चेकिङ गरिँदै आएको र सवार यात्रुका एकअर्काको परिचयका आधारमा समेत नियम उल्लङ्घन गर्ने सवारीको पहिचान गरिँदै आएको बताउनुभयो ।

निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनलाई अन्य प्रयोजनमा प्रयोग गरेमा १० हजार रूपैयाँ जरिवाना गर्ने कानूनी प्रावधान छ । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा लेख प्रमुख दिनेश सिंह ठाकुरले नियम उल्लंघन गर्ने प्रत्येक ईभि भ्यानलाई कानुन बमोजिम १० हजार रुपैयाँ जरिवाना लगाइएको जानकारी दिनुभयाे ।

उहाँले जरिवाना पछि सवारी चालक र धनीलाई सम्झाइबुझाइ पठाउने गरेको बताउनुभयाे । अहिलेसम्म ट्रफिक कार्यालयबाट अनुगमन भएतापनि केही समयमै यातायात कार्यालयले पनि अनुगमन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ३८० सवारी दुर्घटना दर्ता भएका छन् । जसमा १७ जनाको मृत्यु र ६९४ जना घाइते भएका छन् ।

सोही अवधिमा ७ हजार चार सय ३१ सवारी साधनमाथि कारवाही गरी ५८ लाख ३३ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ । सवारी चालक र जनतालाई सचेत गराउने हेतुले बेलाबेला सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको इन्सपेक्टर शाहीले जानकारी दिनुभएको छ ।

Previous articleइस्लामी संघ नेपालद्वारा जागरण अभियान सुरू
Next articleमदरसाका बिद्यार्थीलाई ट्राफिक सचेतना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here