
नेपालगन्ज । सडक दुर्घटना न्यूनिकरण तथा बिद्यार्थीहरुमा ट्राफिक नियमबारे सचेतना जगाउने उद्देश्यले नेपालगन्जको एक मदरसामा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना र ट्राफिक प्रहरी पोष्ट नेपालगन्जको सहकार्यमा बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित दारुलउलुम बरकातिया माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमुख वरिष्ठ सहायक निरीक्षक नन्द पोखरेलसहितको टोलीले बिद्यार्थीहरुलाई सडक वारपार गर्ने तरिका, हिँड्ने ढाँचा, सवारी साधनमा सवार हुने संख्या, हेलमेटको अनिवार्यता, सवारीको गति नियन्त्रण, ट्राफिक लाइट र संकेत चिन्हहरूको व्यवहारिक जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुले अबदेखि आफ्नो समुदायमा हेलमेट बिना सवारी चलाउने प्रवृत्तिविरुद्ध आवाज उठाउने, सवारी क्षमताभन्दा बढी सवार हुन नदिने र ट्राफिक नियमको पूर्ण पालना गर्न अभिभावकलाई समेत सुझाव दिने प्रतिवद्धता जनाएका थिए ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले विभिन्न विद्यालय र समुदायमा जनचेतना, सचेतना, सडक नाटक, भिडियो प्रदर्शन र प्रशिक्षणजस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
सचेतना कार्यक्रम सो मदरसाका कक्षा ८, ९ र १० का बिद्यार्थीहरूका लागि आयोजना गरिएको थियो । कार्यक्रमबाट करिब ९० जना बिद्यार्थी लाभान्वित भएका छन् ।






