
नेपालगन्ज । बाँकेमा आज शुक्रबारदेखि १६औ पटक हात्तीपाइले बिरुद्धको औषधी खुवाइँदैछ । हात्तीपाइले रोगको जोखिम कायम रहेकाले बाँकेमा रहेकाले यसबिरुद्धको औषधी खुवाउन लागिएको हो ।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६ औं पटक हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले जानकारी दिनुभयो ।
नेपालमा राष्ट्रिय हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान १५औं पटक सम्पन्न हुँदासमेत यस जिल्लामा एक पटक पनि नखाएको संख्या १५.३६ प्रतिशत छ । एक पटक पनि औषधी नखाएको संख्या १० प्रतिशत भन्दामाथि भए चुनौतीपूर्ण मानिन्छ ।
गतवर्ष जिल्लामा ६२ प्रतिशतले औषधी खाएका थिए भने नेपालगन्ज उपमहानगरपालिकामा ५६ प्रतिशत मात्रै कभरेज भएको थियो । नेपालगन्जको वडा नम्बर १६ मा १४ प्रतिशत मात्रै प्रगति छ । एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधी सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव नहुने अधिकृत महतोले बताउनुभयो ।
बाँकेमा औसतमा १०० जनामा ६.५ जनाको शरीरमा हात्तीपाइलेको बयस्क परिजीवी छ । यसलाई १ प्रतिशत मुनी नझारे जोखिम उच्च रहन्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म अरुलाई सार्ने गर्दछ ।
यसपटकको अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उक्त अभियान सञ्चालनका लागि रु करिब ४३ लाख बढी बजेट खर्च हुनेछ ।





