
नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आपसी भाईचारा र धार्मिक सद्भाव अभिवृद्धिमा जोड दिनुभएको छ ।
आइतबार एकलैनीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार राईले आफूले २०७९ को चुनावमा पराजय ब्यहोरेपछिको अवधिमा सद्भाव खल्बल्याउने थुप्रै षड्यन्त्रहरू भएको दाबी गर्नुभयो ।
उहाँले बाँके निर्वाचन क्षेत्र नं २ मा आफ्ना लागि सद्भाव प्रमुख मुद्दा रहेको बताउँदै उम्मेदवार राईले योपटक जनताले आफ्नो मतमार्फत सद्भावको सन्देश दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
अर्को प्रमुख मुद्दा स्वास्थ्य रहेको बताउनुभएका राईले भेरी अस्पतालबाट सहज र विशिष्टिकृत सेवा प्रवाहका लागि आफ्नो पहल रहने जानकारी दिनुभयो । अहिले भेरी अस्पतालमा उपचारका क्रममा आम मानिसहरूले कयौं कठिनाईहरू ब्यहोर्नुपरिरहेको र त्यस्ता कठिनाईहरू अन्त्य गर्न आफू लागि परेको उहाँको भनाई थियो ।
आफू सहरी विकास मन्त्री हुँदा भेरीमा सुविधासम्पन्न भवनहरू निर्माण गरेको स्मरण गर्दै राईले आफू विजयी भएमा मुटु रोग उपचारलाई प्राथमिकतामा राख्ने प्रष्ट्याउनुभयो । मुटुसम्बन्धी उपचारका लागि सकेसम्म काठमाडौं, लखनउ वा दिल्लीका अस्पतालहरूमा जान नपर्ने अवस्था ल्याउन आफू प्रयासरत रहेको पनि उहाँले बताउनुभयो ।





