
नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले नेपालगन्जमा प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले आइतबार नेपालगन्जको त्रिभुवन चोकस्थित पश्चिम लाईनमा स्थापना गरेको कार्यालयको उद्घाटन गरिएको छ ।
कार्यालयको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले गर्नुभएको थियो । सो क्रममा बोल्दै बाल्मिकीले नेपाली काँग्रेस नै देशहितको पार्टी भएको र सबै अट्ने पार्टी भएको बताउनुभयो । देशलाई सुरक्षित बनाउन र दिगो नेतृत्वका लागि काँग्रेसको साथमा मात्रै हुने उल्लेख गर्नुभयो ।
कार्यक्रलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बन्नुभएका सुधांशु कोइरालाले जेनजी आन्दोलनमा नेपालगन्जका दुई युवासहित शाहदत प्राप्त सबै युवाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली काँग्रेसले पनि परिवर्तन खोजेको बताउनुभयो । उहाँले काँग्रेसले देशमा २००७ सालदेखि निरन्तर जनता र समाजको भावना बुझेर परिवर्तनको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
निर्वाचनमा पार्टी र जनताले आफुलाई गरेको विश्वासप्रति कहिल्यैपनि विश्वासघात नगर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो जेनजी आन्दोलनको मुख्य माग रहेको भ्रष्टाचार र कुशासनबिरुद्ध सदैब आफ्नो आवज बुलन्द रहने बताउनुभयो ।
नेपाली काँग्रेस बाँकेका पुर्व सभापति कृष्णमात्र श्रेष्ठ, निवर्तमान सभापति किरण कोईराला, महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्यलगायत भातृ संगठनका व्यक्तिको उपस्थिति रहेको उद्घाटन कार्यक्रम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई क्षेत्रीय सचिव सुनिल सिंह हमालले संचालन गर्नुभएको थियो ।





