
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईको चुनावी अभियान ब्यापक बन्दै गएको छ । शुक्रबार डुडुवा गाउँपालिकाका विभिन्न टोल–बस्तीमा सञ्चालन गरिएको घरदैलो अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता र आत्मीय स्वागत बढ्दै गएको छ ।
उम्मेदवार राईले डुडुवा निर्वाचन क्षेत्र–२ अन्तर्गत पर्ने बेतहनी–२ अमृतपूर्वा, बाबागाउँ, उचवा हल्बलडोली तथा खलवा हल्बलडोली–३ लगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो । राईले मतदाताको भावना सुन्दै उनीहरुको विश्वास र साथलाई आफ्नो चुनावी यात्राको ऊर्जा भएको बताउनुभएको छ ।
मतदाताबाट प्राप्त समर्थन र हौसलाले आफ्नो आत्मविश्वास अझ मजबुत भएको बताउँदै राईले मधेस तथा मधेसी समुदायको अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
उहाँले समावेशी विकास, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । स्थानीय मतदाताहरूले उम्मेदवार राईले उठाएका विकास, अधिकार र समावेशीताका एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । डुडुवा क्षेत्रका धेरै बासिन्दाले विगतदेखि ओझेलमा परेका स्थानीय समस्या समाधानका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउँदै राईबाट आशा व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रममा सहभागी ८५ वर्षीय स्थानीय ज्येष्ठ नागरिक अमिखा प्रसादले उम्मेदवार राईप्रति विश्वास व्यक्त गर्दै भन्नुभयो, “हामीले यस्तो उम्मेदवार पाएका छौं, जसले हाम्रो दुःख–सुख बुझ्ने प्रयास गरिरहेका छन् । उहाँले हाम्रो क्षेत्रको विकास र समुदायको अधिकारका लागि काम गर्नुहुन्छ भन्ने विश्वास छ ।”





