कामको मूल्यांकन गरेर मतदान गर्नुस्: इश्तियाक राई

नेपालगन्ज । नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं २ बाँकेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आय–आर्जन गर्न सक्षम गराउन आफू प्रयत्नरत रहेको बताउनुभएको छ । शुक्रबार वडा नं २१ पुरैनीमा नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका राईले स्थानीय स्तरमै युवाहरूले काम पाउने र मनग्य आम्दानी गर्नसक्ने गरी आफूले योजना बनाइरहेको बताउनुभयो ।

अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने बताउनुभएका उम्मेदवार राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गर्नुभयो । हाँहाँले भन्नुभयो– “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन । तर यत्ति चाहिँ भन्छु कि किसानले चाहिएको बेलामा सहज र सस्तोमा मल पाउने वातावरण बनाउन म अग्रसर हुन्छु ।” निर्वाचन क्षेत्र नं २ मा २०७४ सालमा आफू सांसद भएपछिको ५ वर्षे कार्यकाल र आफू पराजित भएपछिको पछिल्लो ३ वर्ष तुलना गरेर मूल्यांकन गर्न पनि मतदातासमक्ष राईले आग्रह गर्नुभयो ।

‘‘मेरो जित हुँदाको समय र मेरो पराजय भएपछिको समय तुलना गर्दा नै स्पष्ट हुन्छ यहाँ कसले काम गर्छ, कसले काम गर्दैन !’’ राईले भन्नुभयो । पछिल्लो ३ वर्षमा समाजमा झगडा गराउने र विभाजन ल्याउने थुप्रै घटनाहरू बाँकेमा भएको उदाहरणहरू दिँदै राईले आफू सधैं नै धार्मिक सद्भाव र एकताको पक्षमा अडिग रहेको बताउनुभयो । निर्वाचन जित्नका लागि समाजमा विभाजन ल्याउन चाहनेहरूलाई समाजले चिन्नुपर्ने वहाँको भनाई थियो । आफूले योपल्ट उल्लेख्य मत ल्याएर विजयी हुने संकेत गर्नुभएका राईले २०७९ को निर्वाचनमा २०७४ सालको भन्दा धेरै मत ल्याएपनि अन्य सबै दलहरू मिल्दा आफू पछि परेको बताउनुभयो । २०७४ सालमा २१ हजार ५ सय ७५ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित राई २०७९ मा २३ हजार ५ सय २० मत ल्याएर पराजित हुनुभएको थियो ।

बाँकेका केही राजनीतिज्ञ र विरोधी व्यक्तिहरू सधैं नै आफूलाई अनावश्यक बदनाम गर्न लागिपरेको आरोप पनि राईले लगाउनुभयो । “इश्तियाक राईले जित्यो भने आफूहरू पछि परिन्छ भन्ने डरले केही मानिसहरू असम्बन्धित कुराहरूमा पनि मलाई जोडिदिन्छन् । स्थानीय तहका कामहरूमा समेत त्यहीँका जिम्मेवार व्यक्तिलाई केही नभनेर मलाई देखाइन्छ । यस्ता गलत कुराहरू जनताले बुझ्नु जरुरी छ ।” , राईले भन्नुभयो । राईले आजै वडा नं १३ का मतदाताहरूसँग घरघरमै पुगेर भेटघाट गर्नुभएको थियो ।

Previous articleकांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा-४ का गाउँहरुमा ब्यस्त
Next articleडुडुवामा कमरुद्दिनले ब्यापक बनाउँदै आफ्नो अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here