
नेपालगन्ज । बाँके क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार सूर्यलाल यादवले मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउनुभएको छ ।
निर्वाचन नजिकिँदै जाँदा उहाँले क्षेत्र नम्बर ३ का विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष अन्तरक्रिया तथा साक्षात्कार गरिरहनुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल बाँकेका अनुसार भेटघाटका क्रममा उम्मेदवार यादवले मधेश र मधेसी समुदायको अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले गरिब, निमुखा तथा मधेशमा बसोवास गर्ने जनताको हकहितका लागि सदैव आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै जसपा नै मधेसीको अधिकारको सशक्त पक्षधर पार्टी भएको धारणा राख्नुभयो ।
मतदाता भेटघाट कार्यक्रम उत्साहजनक र फलदायी भएको बताउँदै यादवले मतदाताबाट प्राप्त माया, स्नेह र समर्थनले थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो । “मतदाताले देखाएको माया र स्नेहले अझ जिम्मेवार भएर काम गर्ने हौसला मिलेको छ,” उहाँले भन्नुभयो ।
स्थानीय मतदाताले पनि उम्मेदवार यादवसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी व्यक्त गर्दै मधेशका सवाल संसदमा मजबुत रूपमा उठ्ने अपेक्षा राख्नुभएको छ ।





