भ्रष्टाचार नियन्त्रण जस्ता कार्य काँग्रेसले नै गर्छ: नेता गौडेल

कुसुम । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रसाद गौडेलले जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफूलाई परिवर्तन गर्ने पार्टी कांग्रेस मात्र भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसले राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सञ्चालनमा ल्याएको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौडेलले भन्नुभयो, ‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार नेपाली कांग्रेसले गगन थापालाई पार्टी सभापति बनाइसकेको छ, उहाँकै नेतृत्वमा सरकारको नेतृत्व गर्ने पनि घोषणा कांग्रेसले गरिसकेको छ, यो निर्वाचनमा नेपाली कांग्रेसका प्रत्येक प्रतिनिधि सभा सदस्यलाई जिताउन जरुरी छ ।’

जेन–जी आन्दोलनले उठाएका कुरालाई सम्बोधन गर्नका लागि भएपनि आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक रहेको गौडेलले बताउनुभयो । नेपाली कांग्रेस बाँकेका सभापति रहनुभएका नेता गौडेलले जेन–जी आन्दोलनले उठाएको सुशासन कायम, भ्रष्टाचार नियन्त्रण जस्ता कुरालाई कार्यान्वयन गर्नकै लागि भएपनि कांग्रेसलाई जिताउनुको विकल्प नभएको प्रष्ट्याउनुभयो । ‘त्यसको कार्यान्वयन नेपाली कांग्रेसले मात्र गर्न सक्छ, यसको लागि पनि नेपाली कांग्रेसलाई जिताउन जरुरी छ,’ गौडेलले थप्नुभयो ।

बाँकेको पुर्वी क्षेत्रमा अवस्थित राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम क्षेत्र भौगोलिक हिसाबले एकदमै ठूलो र राप्तीपारीका गाउँहरु अहिले पनि एकदमै दुर्गम रहेको उल्लेख गर्दै उनले ती गाउँलाई सुगम क्षेत्रसँग जोड्न हुलाकी सडक निर्माण कार्यलाई निरन्तरता र राप्ती नदीमा पक्की पुल निर्माण गर्नका लागि आफूले विशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका कारण सिर्जना भएका समस्याहरु समाधान गर्नका लागि निकुञ्ज ऐन संशोधन गर्न आवश्यक रहेको र यसका लागि आफुले उचित ढंगले कुरा उठाउने बताउनुभयो । मानव बस्तीमा वन्यजन्तुलाई आउन नदिन निकुञ्जले पर्याप्त मात्रामा तारबारको ब्यवस्था गर्नुपर्ने र मानवीय क्षति तथा बाली बोटमा हुने क्षतिका सन्दर्भमा निकुञ्जबाट प्रदान गरिने राहत तथा क्षतिपूर्ति एकदमै कम भएकाले यसलाई बढाउन आफूले पहल गर्नेपनि बताउनुभयो । बाँकेको क्षेत्र नम्बर १ मा २०५६ सालको निर्वाचनपछि नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व नगरेकाले यस पटक कांग्रेसलाई जिताएर काम गर्ने अवसर प्रदान गर्न उहाँले सबैलाई अपील गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि एवम् क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले गत भदौ २४ गतेका दिन जुन शक्तिले देश जलायो, त्यही शक्तिले अहिले देश बनाउने भन्दै विभिन्न आवरणमा भोट माग्ने काम गरिरहेको बताउनुभयो । ‘जसले देश जलायो, उनीहरु अहिले भोट माग्न आइरहेका छन्, जेन–जी विध्वंसका क्रममा कलिला नानी बाबुलाई मारियो, नरसंहार गरियो, कुनै कार्यालय बचेनन्, कुनै नेताका घर बाँकी रहेनन्,’ क्षेत्रीय सभापति केसीले भन्नुभयो, ‘जेन–जीको नाममा भएको विध्वंसपछि प्रतिनिधि सभा विघटन भयो, राष्ट्रपति रामचन्द्र पौडेलले आफू मर्न तयार भए पनि संविधानलाई जोगाउनु भयो, तसर्थ यो कुरा सबैले बुझ्न जरुरी छ, सामान्य निर्वाचन होइन ।’

पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति स्वर्गिय सुशील कोइरालाले दिएको संबिधान अहिले कोमामा रहेको र चिरहरणमा परेको संबिधानलाई बचाउनका लागि यतिबेला कांग्रेसले जित्न जरुरी रहेको नेता केसीले स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार दिपनारायण बर्माले क्षेत्र नम्बर १ का दुर्गमका बासिन्दाले भागेका समस्या र समाधान गर्नुपर्ने विषयलाई नेपाली कांग्रेसले आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो । कांग्रेसका क्षेत्रीय सभापति पोषण केसीको पहलबाट यस क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरु भएको उहाँले सुनाउनुभयो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारुले कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो संगठित भोट मात्रै संरक्षण गर्न सकेमा पनि पर्याप्त हुने बताउनुभयो । ‘नेपाली कांग्रेसले जनताको कामहरु गर्ने, अरु पार्टीले सिन्को नभाँचे पनि भोट दिनुपर्ने ?’ उहाँले भन्नुभयो, ‘परिवर्तनको नाममा लह–लहैमा लाग्नु हुँदैन, ढुक्क भएर कांग्रेसको रुख चिन्हमा भोट हाल्नुपर्छ ।’

आफू राप्ती सोनारी गाउँपालिका अध्यक्ष हुँदा सके जति विकासका कामहरु गरेको नेता थारुले सुनाउनुभयो । नेपाली कांग्रेस राप्ती सोनारी–१ का वडा सभापति मोहनराज डाँगीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका सदस्य टिकाराम बस्नेतले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस राप्ती सोनारी–१ कार्यसमितिका सचिव जनक खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति चिरञ्जिवी केसीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित भएका कांग्रेस कार्यकर्ताले आफ्नो गाउँ, ठाउँमा भोगिरहेका समस्या सुनाएका थिए । सोही कार्यक्रममा नेपाली कांग्रेस राप्ती सोनारी–१ वडा कार्यसमितिले निर्वाचन प्रचार–प्रसार समिति समेत गठन गरेको वडा सभापति डाँगीले जानकारी दिनुभयो । चुनावी कार्यक्रम अन्तरगत कांग्रेसले राप्ती सोनारी–२ स्थित टिकुलीपुरमा पनि प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । योसँगै नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा रहेका आफ्ना ३० वटै वडामा प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्य सम्पन्न गरिसकेको क्षेत्रीय सभापति केसीले जानकारी दिनुभयो ।

Previous articleजनताको मुद्दा उठाउनमा प्रतिबद्व: नेता कमरुद्दिन
Next articleबाँके ३ का उम्मेदवार यादव मतदाता भेटघाटमा सक्रिय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here