जनताको विश्वास ट्टन दिने छैनः कोइराला

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालगन्जमा आयोजना गरेको बृहद् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सुशासन र पारदर्शितामार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ ।

संविधान पिता तथा त्यागी नेता सुशील कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको उल्लेख गर्दै कोइरालाले उक्त क्षेत्रको राजनीतिक इतिहास र जनभावनालाई सम्मान गर्दै अघि बढ्ने धारणा राख्नुभयो । उहाँले सुशील कोइरालाले स्थापित गरेको इमानदार राजनीति, त्याग र समर्पणको मार्गलाई आत्मसात गर्दै आफू अघि बढ्ने बताउनुभयो ।

कोइरालाले नेपाली काँग्रेसभित्र आएको परिवर्तनले कार्यकर्तामा नयाँ उत्साह थपिएको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनले पार्टीलाई समयअनुकूल रूपान्तरणतर्फ अघि बढाएको भन्दै उनले अहिले पार्टी संगठन थप सक्रिय र सशक्त हुँदै गएको दाबी गर्नुभयो । उहाँका अनुसार कार्यकर्ताको एकता, सक्रियता र योजनाबद्ध अभियान सञ्चालन गर्न सके चुनावी विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले थोरै मात्र थप मिहिनत गरेर सही रणनीति अपनाउन सके जित सुनिश्चित छ,” उहाँले भन्नुभयो, “पार्टीभित्र देखिएको उत्साह र एकताले सकारात्मक परिणाम ल्याउने आधार तयार भएको छ ।” कोइरालाले पार्टी नेतृत्वप्रति पनि विश्वास व्यक्त गर्दै नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन बाँकेबाट निर्वाचन लड्नु जिल्लाकै गौरव भएको बताउनुभयो ।

उहाँले पुनको नेतृत्वलाई मार्गदर्शनका रूपमा लिँदै संगठन सुदृढीकरण र चुनावी अभियानलाई थप प्रभावकारी बनाउने बताउनुभयो । “हामीले सक्षम अभिभावक नेतृत्व पाएका छौं, जसले हामीलाई सही दिशा दिनेछ,” उहाँले भन्नुभयो । उहाँले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रूपमा मात्र नभई जनताको विश्वास जित्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पारदर्शी र उत्तरदायी शासनमार्फत विकास र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो । कोइरालाले बाँके क्षेत्र नम्बर २ को समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले स्पष्ट योजना र प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएको बताउँदै जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो ।

Previous articleउपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन
Next articleबाँकेमा ७ महिनामा ३१ जनाले गुमाए ज्यान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here