
नेपालगन्ज । बाँकेमा चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाको अवधिमा ३१ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका सवारी साधन दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका हुन् ।
बाँके ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक कनकबहादुर शाहीले चालु आर्थिक वर्षको साउनदेखि माघ २५ गतेसम्म जिल्लामा ६ सय ५३ वटा सवारी साधन दुर्घटनामा परेको बताउनुभयो ।
उक्त दुर्घटनामा परेर ३१ जनाको ज्यान गएको हो । ‘हालसम्मको अवधिमा भएको दुर्घटनामा २१ जना पुरुष, ७ जना महिला र तीन जना बालकले ज्यान गुमाएका छन्,’ इन्चार्ज शाहीले भन्नुभयो । सो दुर्घटनामा परेर ६६ जना गम्भीर घाइते भएका छन् भने १ हजार ३० जना सामान्य घाइते भएका शाहीले जनाउनुभयो ।
यस्तै चालु आर्थिक वर्षको हालसम्म १४ हजार ३ सय ८५ सवारी साधनलाई कारबाही गरिएको छ । उनीहरूलाई गरिएको कारबाहीबाट एक करोड १६ लाख ३१ हजार पाँच सय रुपैयाँ जरिवाना सङ्कलन भएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४ सय १३ जना र तीव्र गतिमा सवारी साधन चलाएका ५ सय ६४ जनालाई कारबाही गरिएको इन्चार्ज शाहीले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका कारण दुर्घटना बढेको इन्चार्ज शाहीले बताउनुभयो । गत आर्थिक वर्ष २०८१÷०८२ मा यसै अवधिमा भने ४७ जनाले ज्यान गुमाएका थिए ।





