
नेपालगञ्ज । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन तथा भण्डारा कार्यक्रम गरिएको छ । दिवसको अवसरमा नेपालगञ्जका धार्मिक तथा सामाजिक अगुवाहरुले विशेष कार्यक्रमका रुपमा दिप प्रज्वलन तथा भण्डारा कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाएका हुन ।
यस क्रममा सोमबार साँझ नेपालगञ्जको त्रिभुवन चोकमा पृथ्वी नारायण शाहको फोटोमा माल्यापर्ण एव दिप प्रज्वलन गरिएको थियो । त्यसपछि सदरलाईन पूर्व मन्दिरको ढोका अगाडी भण्डारा कार्यक्रम गरिएको छ ।
भण्डारा अघि राखिएको सभामा पूर्व सांसद अब्दुल हमिद सिद्धिकी (भोला)ले देश निर्माता पृथ्वी नारायण शाहलाई बिर्सन नहुने कुरामा जोड दिनुभएको छ । उहाँले शाहको बलिदानीका कारण नै आज नेपालको छुट्टै पहिचान कायम भएकाले पुर्खालाई कदापी बिर्सन नहुने धाराणा राख्नुभयो ।
मन्तब्यकै क्रममा हालै प्रधानमन्त्री केपी शर्मा वलीले गर्नुभएको संसद बिघटनको चर्को बिरोध गर्नुभयो । यस्तै बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगीले आफु कुनै पार्टीको व्यक्ति नभएकाले शाहको देश निर्माणका लागि गरेको त्यागलाई जोगाई राख्नुपर्नेमा जोड दिनुभयो ।
ओमका परिवारको सहभागिता तथा सामाजसेवी दिपक लोधको नेतृत्वमा दिप प्रज्वलन तथा भण्डारा आयोजना कार्यक्रम गरिएको थियो । कार्यक्रममा समाजसेवी कदिर अन्सारी र मेराज हिमालयले समेत शाहको योगदानको चर्चा गर्नुभएको थियो ।





