
नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य बाँके क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले चुनावी अभियानलाई जारी राख्नुभएकाे छ । उम्मेदवार राईको प्रचारप्रसार गर्ने उद्देश्यका साथ निर्वाचन क्षेत्रभरि सञ्जाल विस्तार भइरहेको छ ।
एमाले कार्यालयमार्फत निर्वाचन क्षेत्र नम्बर २ का सबै वडामा प्रचारप्रसारको सञ्जाल विस्तार गरिँदैछ । पार्टीको निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालयहरू २७ वटै वडामा खोलि सकिएको छ ।
मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को प्रचारप्रसार सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएकाे छ । राईले यो वडा लगायत विभिन्न वडामा मतदाता भेटघाट, चुनावी कार्यक्रम तथा कोण सभालाई सम्बोधन गर्नुभएकाे हाे ।
मतदाता भेटघाटका क्रममा पुर्वमन्त्री समेत रहनुभएका उम्मेदवार राईले आफुलाई सहयोग गर्न आग्रह गर्नुभएकाे छ । प्रचारप्रसारलाई यस क्षेत्रभर विस्तार गर्न वडास्तरीय सञ्जालहरू प्रभावकारी हुने नेकपा एमाले बाँकेको विश्वास छ ।
यसैबीच डुडुवा गाउँपालिका वडा नम्बर १ पिप्रहवा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० नटनपुर तथा रमेशर पुर्वामा स्थानीय मतदाताबिच कोणसभा कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज रङ्गशालामा खेलाडीहरूसँग खेलकुदका विषयमा राईले गहन छलफलसमेत गर्नुभएको छ । सोही क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा घरदैलो कार्यक्रम गर्नुभएकाे छ ।
चुनावी अभियानका क्रममा उहाँले यस क्षेत्रका मतदाताहरूसँग समानुपातिक दुवैतर्फ एमालेलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएकाे छ । सो क्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।





