
नेपालगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा गरिएको छ ।
रामलिला मैदानबाट सुरु भएको उक्त ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै एमपी स्कुल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी समर्थकहरुको उत्साह, झण्डा र नाराले शहरको माहोल नै चुनावी रंगमा रंगिएको देखिन्थ्यो ।
“यो चुनाव केवल चुनाव होइन, भाग्यको फैसला हो” कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुने निर्वाचनलाई केवल नियमित चुनावको रुपमा नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यो चुनाव जनताको भाग्य फैसला गर्ने अवसर हो । यसलाई सामान्य चुनावको रुपमा होइन, आफ्नो भविष्य तय गर्ने निर्णयको रूपमा लिनुपर्छ ।”
उहाँले जनतालाई भावनात्मक रूपमा जोड्दै प्रश्न गर्दै भन्नुभयो, “कोरोनाकालमा तपाईंहरूको दुःखमा को साथमा थियो ? अहिले भोट माग्न आउनेहरू त्यतिबेला कहाँ थिए ?” उहाँले आफू सधैं जनताको साथमा रहेको दाबी गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोणसभामा बोल्दै राईले आफ्नो मुख्य प्रतिस्पर्धी इस्तियाक राइ माथि कडा टिप्पणी गर्नुभयो । उहाँले नेपालगन्जमा ल्याइएका केही विकास योजनाको श्रेय गलत रूपमा लिइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पूर्व प्रधानमन्त्री सुशील कोइरालाले नेपालगन्जमा ल्याएको एडिबीको बजेटलाई इस्तियाक राईले आफैं ल्याएको भन्दै भ्रम फैलाइएको छ । जनताले सत्य बुझ्नुपर्छ ।”
त्यसैगरी उहाँले “आकासे पुल कहाँ छ ?” भन्दै विपक्षीलाई प्रश्नसमेत गर्नुभयो । कमरुद्दिन राईले आफ्नो कार्यकालका केही उपलब्धिहरू प्रस्तुत गर्दै नेपालगन्जमा शिक्षा, स्वास्थ्य तथा धार्मिक संरचनामा उल्लेख्य सुधार भएको दाबी गर्नुभयो । उहाँका अनुसार नेपालगन्जमा १२ करोड रुपैयाँ लागतमा हनुमान मन्दिर निर्माण भइरहेको छ ।
भेरी अस्पतालको पूर्वाधार विकासमा जसपा नेतृत्वको योगदान रहेको उहाँले दावी गर्नुभयो । उहाँले उपेन्द्र यादवको पहलमा स्वास्थ्य पूर्वाधार विस्तार भएको उल्लेख गर्नुभयो । सभामा राईले बाँकेको दुडुवा गाउँपालिकाको अवस्था उल्लेख गर्दै अझै पनि खानेपानी र शौचालयजस्ता आधारभूत सुविधाको अभाव रहेको बताउनुभयो ।
“त्यस्तो अवस्थामा विकास भयो भन्न मिल्दैन, विकास क्रमशः भइरहेको छ तर अझै धेरै काम बाँकी छ,” उहाँले भन्नुभयो । राईले चुनावी विकृति र पैसाको प्रभावप्रति असन्तुष्टि व्यक्त गर्दै मतदातालाई सचेत रहन आग्रह गर्नुभयो । “पैसा र बिरियानीमा बिक्ने मत हामीलाई चाहिँदैन,” उहाँले स्पष्ट शब्दमा भन्नुभयो । उहाँले चुनाव अगावै जनताको सुखदुःखमा साथ दिने व्यक्तिलाई मात्र समर्थन गर्न आग्रह गर्नुभयो ।
राईले आफ्नो उम्मेदवारी मधेशी, दलित, जनजाति तथा मुस्लिम समुदायको हकअधिकार सुनिश्चित गर्न केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशी अधिकारको रक्षाका लागि मैले नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद त्यागेर आएको हुँ । अब जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी लिन चाहन्छु ।”
उहाँले राजनीतिलाई व्यक्तिगत धन आर्जनको माध्यम बनाउने उम्मेदवारलाई परास्त गर्न आग्रह गर्नुभयो । उहाँले मतदातालाई आग्रह गर्दै भन्नुभयो, “इमान्दारिताका साथ छाता चिन्हमा मतदान गर्नुहोस् । चुनाव अगावै तपाईंको साथमा उभिनेहरूलाई सम्झनुहोस्, तर चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस् ।”





