ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो: इश्तियाक राई

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू डुडुवा गाउँपालिकालाई नेपालगन्जसँगसँगै विकसित गराउन लागिपर्ने बताउनुभएको छ । बुधबार डुडुवा गाउँपालिकाको वडा नं २ मा आयोजित चुनावी कार्यक्रममा उम्मेदवार राईले डुडुवा नेपालगन्ज जस्तै विकसित होस् भनेर यहाँ पूर्वाधार निर्माणमा आफ्नो धेरै चासो रहेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका राईले भन्नुभयो ‘मैले नेपालगन्ज र डुडुवालाई पक्षपात गरेर कहिल्यै हेरेको छैन । मेरा लागि दुबै बराबर हुन् । त्यसैले मेरो प्रतिबद्धतापत्र हेर्नुभयो भने पनि तपाइँहरूले थाहा पाउनुहुन्छ कि मैले नेपालगन्ज-डुडुवा भनेर त्यहाँ उल्लेख गरेको छु । बीचमा र पनि छैन । दुवै ठाउँको विकासले मेरो लागि उत्तिकै महत्व राख्छ ।’

डुडुवाको विकासमा कतिपय स्थानीय नेताहरूको गलत राजनीतिक रबैयाले बाधा पुर्‍याएको पनि राईको आरोप थियो । उहाँले डुडुवा गाउँपालिकामा फुसको छानो विस्थापित गरेर सुरक्षित घर बनाउने आफ्नो योजनामा डुडुवा गाउँपालिकाले भाँजो हालेको बताउनुभयो । त्यस्तै राजनीतिक र प्रशासनिक वेपरवाह अनि असहयोगले डुडुवा क्षेत्रमा सडक सञ्जाल र पूल निर्माणका कामहरूले गति लिन नसकेको पनि उम्मेदवार राईले दाबी गर्नुभयो ।

आफू भौतिक मन्त्री हुँदा डुडुवा क्षेत्रमा सुरु गरेका ८ वटा पुलमध्ये एउटा मात्र अहिलेसम्म पूरा भएको, राप्ती नदीमा बन्दै गरेको डबल लेन पुलको काम ७० प्रतिशत पूरा भइसकेको तथा केही निर्माणाधिन र एउटाको काम नै सुरु हुन नसकेको राईले जानकारी दिनुभयो । यी सबै पुलहरू अहिलेसम्म बन्न नसक्नुमा राजनीतिक पूर्वाग्रह, ठेकेदारको लापरवाही र प्रशासनिक उदिसनता रहेको राईको भनाई थियो ।

राईले आफू विजयी भएमा डुडुवा खोलाको नदी कटान र डुबानको समस्या समाधान गर्न तटबन्ध निर्माण गर्ने बताउनुभयो । नेपालगन्ज विर्ता पुरैना हुँदै बेतहनी अमृतपुर्वा मिलनचोक राँझा जोड्ने सडक योजना आफूले ल्याएको र त्यसको अझैं आधा काम बाँकी रहेको राईले बताउनुभयो । अब निर्वाचित भएपछि बाँकी रहेको काम पूरा गर्ने पनि उहाँको दाबी थियो ।

Previous articleचुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्: कमरुद्दिन राई
Next articleनेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहंम : थापामगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here