
नेपालगन्ज । आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का तर्फबाट उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।
शुक्रबार उहाँले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभयो । घरदैलो कार्यक्रमका क्रममा सरल र मिलनसार स्वभावका राईले स्थानीय बासिन्दासँग हातेमालो गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्छु,” राईले भन्नुभयो ।
अभियानका क्रममा नेपालगन्ज–१८ कै १०३ वर्षीया मायाँ कुर्मीले राईलाई विजयीको आर्शिवाद दिनुभयो । ज्येष्ठ नागरिकको आशिर्वाद ग्रहण गर्दै राईले आफू थप जिम्मेवार र उत्साहित बनेको प्रतिक्रिया दिनुभयो । “आमाको आशिर्वादले जनताको सेवा गर्ने मेरो संकल्प अझ मजबुत भएको छ,” उहाँले भन्नुभयो ।
राईले मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसंख्यक समुदायहरूको अधिकार सुनिश्चित गर्ने आफ्नो एजेण्डा रहेको उल्लेख गर्नुभयो । समावेशी विकास, समान प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा आफू दृढ रहेको उहाँको भनाइ छ । घरदैलो अभियानलाई तीव्रता दिँदै राईले आगामी दिनमा पनि टोल–टोल पुगेर मतदातासँग संवाद जारी राख्ने बताउनुभयो ।





