बाँकेमा प्रलोपा र जसपा नेपालबीच चुनावी सहमति

नेपालगन्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच चुनावी एकता गरिएको छ । आइतबार नेपालगन्जमा एक भेला बसेर दुई पार्टीले औपचारिक रुपमा दलगत एकता गर्ने सहमति गरेका छन् ।

दुबै दलका जिल्ला नेतृत्वले गरेको सहमति-पत्रमा देशमा देखिएको राजनीतिक ध्रुवीकरण, ‘जेन्जी’ विद्रोहपछिको विकसित परिस्थिति तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ ।

संसदीय अभ्यासलाई सुदृढ बनाउँदै बाँकेको विशिष्ट राजनीतिक अवस्था र मतदाताको अपेक्षालाई ध्यानमा राखी चुनावी सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ ।

क्षेत्र नम्बर १ मा कृष्णालाई जसपा नेपालले समर्थन गर्ने
सहमति अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपाका आधिकारिक उम्मेदवार कृष्णा केसीको चुनाव चिन्ह ‘आँखा’ लाई जसपा नेपालले औपचारिक समर्थन गर्नेछ । उक्त क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा संगठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुने जनाइएको छ ।

क्षेत्र नम्बर २ मा कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा जसपा नेपालका आधिकारिक उम्मेदवार कमरुद्दीन राईको चुनाव चिन्ह ‘छाता’ लाई प्रलोपाले समर्थन गर्ने सहमति भएको छ । सो क्षेत्रमा पनि साझा उम्मेदवारको पक्षमा एकीकृत अभियान सञ्चालन गरिने छ ।

सहमति-पत्रमा निर्वाचन प्रचारप्रसारका क्रममा एक-अर्काको विचार, सिद्धान्त, झन्डा र संगठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साझा उम्मेदवारलाई आफ्नै दलको उम्मेदवार सरह आत्मसात् गर्दै राष्ट्रिय निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्ने घोषणासमेत गरिएको छ ।

प्रलोपा बाँके जिल्ला अध्यक्ष दीपक शर्माले जिल्लाको राजनीतिक स्थायीत्व र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि तालमेल आवश्यक भएको उल्लेख गर्दै यस सहकार्यले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जसपा नेपाल बाँके जिल्ला अध्यक्ष कौशल कुमार धोबीले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको जनाउँदै संयुक्त प्रयासले जनतामा सकारात्मक सन्देश जाने बताउनुभयो ।

Previous articleसमुदायगत विविधता नै यस क्षेत्रको ठूलो शक्ति : इस्तियाक राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here