होटल पौवाको १०औँ वार्षिकोत्सव: सबै शाखामा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवा प्रालीले आफ्नो गौरवमय १० वर्ष पूरा गरेको छ । १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको हो ।

नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्ने भएको छ ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता, १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको जानकारी दिनुभयो । उहाँले १० वर्षमा १ सय शाखाको लक्ष्यका साथ अगाडी बढेको पौवाले कोभिड, भूकम्प जस्ता दुर्घटनाका कारण लक्ष्य हासिल गर्न नसकेको बताउनुभयो ।

आगामी चैत्र २८ गते लगानीकर्ताहरुबीच लगानी सम्मेलन आयोजना गरिएको जनाउँदै अध्यक्ष भण्डारीले आगामी १० वर्षमा १०० शाखाको लक्ष्य पुरा हुने दृढता ब्यक्त गर्नुभयो । उहाँले पौवामा कार्यरत कर्मचारीलाई नै शेयर सदस्यमा थप्दै पौवाले युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको दाबी गर्नुभयो ।

यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवा नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले बताउनुभयो । कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको पाण्डेले बताउनुभयो ।

नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रमसहित गर्ने तयारी गरेको पौवा, नेपालगन्जका महा प्रबन्धक पाण्डेले जानकारी दिनुभयो । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवा नेपालगन्ज शाखामा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ-२०८३’आयोजना हुने पाण्डेले बताउनुभयो ।

चैत्र ३० गते साँझ नेपालगन्जमा हुने ‘शुभकामना साँझ-२०८३’ मा ख्यातीप्राप्त आधुनिक गायक कमल खत्री र गायीका समिक्षा अधिकारीको प्रस्तुती रहने उहाँले बताउनभयो । उहाँका अनुसार चर्चित प्रस्तोता समिरमान श्रेष्ठको उदघोषणमा सञ्चालन हुने कार्यक्रममा स्थानीय मोहिनी डान्स ग्रुपको साँगीतिक प्रस्तुती रहनेछ भने गायक प्रिन्स ठकुरीको समेत प्रस्तुती रहने छ ।

Previous articleकृषि अध्ययनका लागि डुडुवाले विद्यालय भवन बनाउँदै
Next articleनरेन्द्र चौधरीद्वारा डुडुवा सभा हल उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here