
डुडुवा । डुडुवा गाउँपालिकाले वार्ड नम्बर १ र २ अन्र्तगत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ ।
उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निमार्ण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिको अति दुर्गम तथा बाढी प्रभावित क्षेत्रलाई पर्यापर्यटनको रुपमा चिनाउन त्यस क्षेत्रको विकास गर्न लागिएको हो ।कृषि विद्यालयका लागि चार कोठे भवनको निमार्ण कार्य शुरु गरिएको छ ।
केही दिनअघि गाउँपालिका अध्यक्ष चौधरीले ४ कोठे भवनको शिलान्यास गर्नुभएको थियो । डुडुवा-२ स्थित पशुपति माध्यमिक विद्यालय अन्र्तगत रहने गरी कृषि विषयको अध्ययन अध्यापनका लागि भवन निमार्ण गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
करिब रु ७० लाखको लागतमा निमार्ण शुरु भएको भवन असार मसान्तसम्म निमार्ण कार्य सम्पन्न हुने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर शुरेन्द्र बर्माले जानकारी दिनुभयो ।





