
कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रका ३२ जना महिलाहरु दिक्षित भएका छन् । कोहलपुर क्षेत्रमा बसोबास गर्दै आएका र मण्टेश्री शिक्षातर्फ आकर्षित भएका महिलाहरुको तालिम अवधी पुरा भएपछि उनीहरुलाई दिक्षित गरिएको हो ।
कोहलपुर रहेर मण्टेश्वरी सम्बन्धि तालिममार्फत प्रशिक्षक÷सहजकर्ता तयार गर्दै आएको सिटिएफ नेपालले तालिम लिएका ३२ जना महिलाहरुलाई आइतबार दिक्षान्त समारोहको आयोजना गरी दिक्षित गरेको छ ।
कार्यक्रमको उद्घाटनमा बोल्दै कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख रविलाल मिजारले तालिमले मानिसमा उर्जा तथा नयाँ जानकारीका साथै सीपसमेत विकास हुने भएकाले तालिमको आफ्नै महत्व रहेको बताउनुभयो । उहाँले दिक्षित भएका महिला दिदीबहिनीहरुलाई शुभकामना दिँदै सहजकर्ताको जिम्मेवारीमा रहँदा आफ्नो कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले मण्टेश्वरी भनेको शिक्षाको जग निर्माण गर्नु रहेकाले यसमा बिशेष जोड दिन जरुरी भएको बताउनुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत डिल्ली आचार्यकोसमेत उपस्थिति रहेको कार्यक्रम सिटिएफ नेपालका व्यवस्थापक अशोक सुवेदीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा साँस्कृतिक कार्यक्रम हुनुका साथै सहभागि तथा सिटिएफका सहकर्मीहरुले स्वागत गीत गाएका थिए । कार्यक्रममा प्रशिक्षक हिरा केसीले स्वागत गर्नुभएको थियो ।





