
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको पालिकाका रूपमा घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिनासम्मका १ हजार २ सय ७५ जना बालबालिका तथा २४ देखि ५९ महिनासम्मका ३ हजार २ सय १८ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पालिकामा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्कीले राप्ती सोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको पालिका घोषणा गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी र उपप्रमुख कार्कीले संयुक्त रूपमा गाउँपालिका स्तरीय खोप समन्वय संयोजक तथा कार्यवाहक अध्यक्ष मनिषा सिंह थारु लाई पूर्ण खोप घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल हुनुमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गाउँगाउँमा पुगेर बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरूले गरेको मेहनत र समर्पणको खुलेर प्रशंसा गर्दै उहाँले सबै स्वास्थ्य स्वयंसेविकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूले न्यून सुविधा र सीमित स्रोतसाधनका बीच पनि समुदायमा स्वास्थ्य सचेतना फैलाउनेदेखि बालबालिकाको जीवन सुरक्षासम्म महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनीहरूको कामको सम्मानस्वरूप भत्ता वृद्धि गर्न गाउँपालिकासँग आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मनिषा सिंह थारु ले आगामी दिनमा पनि पूर्ण खोप अवस्थालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र पहुँचयुक्त बनाइने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमका क्रममा पालिका खोप समन्वय समितिले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गरिने उल्लेख गरिएको थियो । साथै, आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्ण खोप सुनिश्चितता र दिगोपनालाई कायम राख्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सोही अवसरमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएर नियमित अवकाशमा जानुभएका फत्तेपुर स्वास्थ्य चौकीमा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका विजया कलवार तथा आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडामा कार्यरत बुद्धी क्षेत्री लाई सम्मानसहित विदाइ गरिएको थियो । कार्यक्रममा सहभागीहरूले उहाँहरूको सेवाभाव, समर्पण र समुदायप्रतिको योगदानको उच्च प्रशंसा गरेका थिए ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीचको सहकार्यका कारण राप्ती सोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चिततामा सफल भएको भन्दै कार्यक्रममा सहभागीहरूले यस उपलब्धिलाई बालस्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका थिए ।





