
नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज अन्तर्गत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
आईतवार मन्त्री भण्डारीले नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, शुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरिक्षण तथा अनुगमन गर्नुभएको हो।
सो क्रममा समितिका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी समितिका प्राबिधिक सल्लाहकार फरमान अली सिद्दिकी (सोनु)ले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकारबीच सहि समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको बताउनुभयो ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान, प्रतियोगिताको निरन्तर आयोजना, खेल सामाग्रीको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरि दिन मन्त्री यादवलाई आग्रह गर्नुभयो ।
मन्त्री यादवले बाँकेको खेल क्षेत्रको विकास र संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकारसँग समेत कुरा गर्ने बताउनुभयो ।






