
बाँके । बाँकेमा आर्थिक वर्ष २०८२र८३ सम्ममा ६ सय ७ हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा परेको छ। अतिक्रमित वन क्षेत्रमा करिब ३ हजार ९९० घरटहरा निर्माण भएका छन् ।
हालसम्म बाँकेमा ६०७ दशमलव ९८ हेक्टर वन क्षेत्र अतिक्रमण भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिनुभयो । अतिक्रमणको ठुलो हिस्सा विगतमा बाढीबाट विस्थापित भएका परिवारसँग जोडिएको छ । नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ९७५ घरधुरी बसोबास गरिरहेका छन् ।
तत्कालीन समयमा बाढीपीडितलाई बस्न दिइएको क्षेत्रमा अतिक्रमण हटाउने प्रयास भए पनि पुनः बाढी आएपछि विस्थापित परिवार फर्केर बस्न थालेका हुन् ।विक्रम संवत् २०६६ र त्यसपछि बाढीबाट प्रभावित परिवारलाई बसोबासका लागि दिइएको वन क्षेत्र व्यवस्थित हुन नसक्दा समस्या बढ्दै गएको हो । २०७४ सालको बाढीपछि पनि त्यस्ता परिवार पुनः वन क्षेत्रमा आएर बसोबास गर्न थालेका छन् ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ मा २११ हेक्टर वन क्षेत्र अतिक्रमण गरी १ हजार ९२५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन् । वडा नम्बर २ मा ३२ दशमलव ९८ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ६०४ घरटहरा निर्माण गरिएको छ । सोही गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा ४१ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेको पाइएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ७, ८ र १२ तथा बैजनाथ गाउँपालिका २ मा समेत वन क्षेत्र अतिक्रमण भएको छ । ती क्षेत्रमा २०४४र४५ देखि २०७१र७२ सम्म गैरबाढीपीडितका २० घरटहरा निर्माण भए पनि अहिले त्यहाँ नियमित बसोबास नरहेको र सात जनाले भने खेतीपाती गर्दै आएका छन् ।
डुडुवा गाउँपालिका १ बाहेक अन्य वडा र नेपालगन्जका विभिन्न क्षेत्रमा समेत वन क्षेत्रमा ३९४ घरटहरा निर्माण भएको सूचना अधिकारी गुरुङले जानकारी दिनुभयो । बाँकेमा भएको अधिकांश वन अतिक्रमण २०७५ सालअघि नै भएको हो । वन अतिक्रमण हटाउन चालु आर्थिक वर्षमा योजना बनाएर अगाडि बढ्ने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । रासस






