
बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको शिल तथा ताला तोडेर डिजेल निकाल्दै गरेको अवस्थामा दुई वटा ट्याङ्कर नियन्त्रणमा लिइएको छ।
नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट लुम्बिनी प्रादेशिक कार्यालय भलवारीमा तेल ल्याउँदै गरेका ट्याङ्करबाट बाटोमै अनधिकृत रूपमा डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार ती ट्याङ्कर नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष प्रहरी टोलीले सूचनाका आधारमा सर्राफ आयल पम्पमा छापा मार्दा ट्याङ्करको शिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर फेला पारेको हो ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका निमित्त प्रमुख सुरेन्द्र विष्टका अनुसार लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुई वटा ट्याङ्करबाट करिब ३० लिटर डिजेल निकालेर ड्रममा खन्याइएको अवस्थामा फेला परेको थियो ।
यसै क्रममा शङ्कास्पद देखिएको अर्को एउटा ट्याङ्करसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका ट्याङ्करहरू थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको विष्टले बताउनुभयो ।
घटनापछि नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीबाट गएको टोलीले सर्राफ आयल पम्पमा तत्काल सिलबन्दी गरेको छ । निगमका निमित्त प्रमुख विष्टका अनुसार नियन्त्रणमा लिइएका ट्याङ्करमध्ये एउटा पौडेल ढुवानी सेवा, तिलोत्तमाको र अर्को बीएनसी ढुवानी सेवाको रहेको छ ।
शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिइएको अर्को ट्याङ्कर त्रिमूर्ति ट्रान्सपोर्ट सेवाको रहेको उहाँले बताउनुभयो । घटनामा संलग्न ट्याङ्करका चालक तथा सहचालक र पेट्रोल पम्प सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।






