
बर्दिया । प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपको सहकार्यमा बर्दिया जिल्लामा सञ्चालित प्रयास-२ परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय, बर्दिया तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई खोज तथा उद्धार एवं सर्पदंश उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
बी ग्रुपका अध्यक्ष इन्द्र भण्डारीले रु. ७ लाख २५ हजार ५६१ बराबरका खोज तथा उद्धार तथा सर्पदंश उद्धारसम्बन्धी सामग्रीहरू जिल्ला प्रशासन कार्यालय, बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।
सामग्री ग्रहण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले विपद्का समयमा तत्काल खोज तथा उद्धार कार्य सञ्चालन गर्न यस्ता सामग्री महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सर्पदंश लगायतका आपतकालीन घटनामा आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले उपलब्ध सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोगले जिल्लाको विपद् प्रतिकार्य क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रयास-२ परियोजनाले विपद् पूर्वतयारी, पूर्वकार्य, खोज तथा उद्धार क्षमता अभिवृद्धि तथा स्थानीय तहको विपद् प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।







