
अरशद शेष राई, साउदी अरेबिया । साउदी अरेबियास्थित नेपाली राजदूताबास रियादले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय संचालन गर्न स्थगन गरेको छ । यसका लागि राजदूताबासले बिहीबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।
शुक्रबार र शनिबार ५ र ६ फेब्रुअरी २०२१ मा साउदी अरेबिया को शहर दमाममा अस्थायी कार्यालय सञ्चालन गर्ने भनिएको राहदानी आवेदन संकलन अस्थायी कार्यालय अर्को सूचना जारी न हुँदा सम्मका लागि स्थगन गरेको साउदी अरेबियास्थित राजदूताबासले जनाएको छ ।
बिगत केही दिन देखि साउदी अरेबियामा कोरोना भाइरस महामारीको संक्रमण दिनदिनै बढ्दै गएको छ । साउदी सरकारले कोभिड – १९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा ल्याउनका लागि आज बिहीबार अर्थात ४ फेब्रुअरी २०२१ राती १० बजे देखि लागू हुनेगरी ३० दिनका लागि होटल, पार्टीप्यालेस, व्यागंक्वेट, रेस्टुरेन्ट र यस्तै किसिमका भिडभाड हुने स्थानमा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाएको छ ।
बिहिवार साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणले ३ जनाको ज्यान गएको छ भने ३ सय ३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन जबकि २ सय ९७ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन ।
हालसम्म साउदी अरेबियामा कोरोना भाइरस महामारीको संक्रमितको जम्म संख्या ३ लाख ६९ हजार २ सय ४८ पुगेको छ भने कोरोना भाइरसको संक्रमित भई उपचारपछि निको हुनेको जम्म संख्या ३ लाख ६० हजार ६ सय ९७ जना रहेका छन ।
साउदी अरेबियामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३ सय ८९ जनाको मृत्यु भएको साउदी स्वास्थ्य मंत्रालयको तंथ्याक छ ।





