बहुमत सरकारका ३ बर्ष !

बिष्णु प्रसाद पाेखरेल । गणतन्त्र आएपछि स्थीर सरकारको परिकल्पना आम मतदाता देखि सामान्य राजनीतिक कार्यकर्ता सम्मलाई हुनु स्वभाविक थियो । जुन जोगी आए पनि कानै चिरेका भन्ने जन उक्ति कायम रहने कि यसको क्रमभंगता गरि अग्रगमनमा जाने भन्ने सोच नेकपाका नेताहरुमा देखिएको पनि हो । यसै सन्दर्भमा समृद्धि र अग्रगमनको पक्षमा गएर नेकपा एकीकृत हुदै विशाल पार्टी बनी करिबकरिब दुईतिहाईको सरकार बनेको हो । आज यस सरकारको तिनबर्ष पूरा भएको छ ।

सरकारले ३ बर्षमा रेललाई त्रिपाल ओढाउने, केही खोलाका तुईन विस्थापित गरि झोलुङ्गे पुल बनाउने, रापतीमा दोस्रो ठुलो पुल उदघाटन गर्ने, सडक चौडा गर्न बुटवल लगायत केही सहरमा घर भत्काउने, पहाडी क्षेत्रमा सडक ट्रयाक खोल्ने र केही सडक शिलान्याससम्म गरेको छ।

तेस्रो बर्षमा पार्टीको आन्तरिक कलह र कोरोनाको भयावह संक्रमणले सरकारका काममा केही अबरोध ल्याएको थियोे भने बैशाख पछि कलह झांगिदै जादा पनि जेठ असारसम्म सरकारले बार्सिक बजेट पास गर्न र स्वास्थ्य सेवामा खर्च गर्न राम्रै प्रयास गरेको हो । यसबीच कुटनैतिक क्षेत्रमा भारतसँग बिग्रेको संबन्धमा बटर मह लगाउने, चिनसंग समन्वय गर्ने काम पनि भयो ।

गएको तेस्रो बर्षमा सरकारका काम भन्दा राजनैतिक उतारचढाव र निर्णय अचम्मका भए । संबैधानिक निकायमा नियुक्तिमा भागबन्डामा लाजमर्दो अवस्था आयो भने संविधानमा नभएको संसद विघटनको मार मुलुकले खेप्नुपरेको छ। निर्वाचन आयोग किमकर्तव्यमुढ देखिएको छ भने न्यायीक पेसागत बुद्धिजीवीहरुको जमात विघटनको पक्ष र विपक्षमा कानुनी रुपमा भन्दा राजनैतिक रुपमा खुलेर बहर गरेकाछन।

सरकारले पानीजहाज, रेल, मेलम्ची, सिक्टा, बंबई डाईभर्सन, जस्ता राष्ट्रिय गौरवका आयोजनाको गति बढाउन सकेन । किसानले मल पाएनन, बेरोजगारले काम पाएनन, व्यवसायीले अवसर पाएनन, विद्यार्थीले शिक्षा पाएनन, बिजोग माथि बिजोगै थपियो । यसबर्ष धरहरा अग्लिएको बाहेक अन्यत्रको खासै सकारात्मक समाचार सुनिएन ।

बरु यसबीचमा महिला हिंसा र अपराधका घटना बढेका छन । संविधान छलेर अध्यादेश जारी गर्ने, संविधान भन्दाबाहिर जान खोज्ने, राजनीतिक नियुक्तिमा अपारदर्शी र बलमिचाई गर्ने, अस्थिरता र कलहमा चुलिदै गएर सरकार समर्थक र संसद पुनःस्थापन पक्षमा दिनहुँजसो सभा र बिरोध हुदै गरेका छन ।

संबैधानिक निकायहरुको गतिशीलता घटदै जानु, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवस्था पनि निकै ढुलमुले देखिनु, नेकपामा एकता गराउन भन्दा द्वन्द्व बढाउन नेता तथा कार्यकर्ता लागि पर्नु, सडकबाटै सबै उपाय निस्कन्छ भन्ने खोज्नु अचम्मका परिदृश्य देखिए !

अहिले ३ बर्षे शासनको अन्तिम समयमा आएर नेकपामा आन्तरिक रुपमै गरिने बिरोध कार्यक्रममा झनै बिजोग देखिन थालेको छ । मासु भातमा भोट हाले भनेर आलोचना खाएका जनता जनार्दन पनि अहिले आएर मोटर चढी आन्तरिक बिरोध सभामा बाक्लिन थाले । सरकारका निकाय देखि संवैधानिक अंगहरुमा अहिले इतिहासकै अन्यौलता छ । लोकतन्त्रको मुख्य आधार संसद कठघरामा छ।

यस्तो अवस्थामा पनि सरकारका कामको मुल्यांकन गर्ने जनता अझै पनि निर्णायक हुने दिन आओस, गणतन्त्र र साहसिक परिवर्तनको हुर्मत नकाढियोस, गएका तीन बर्ष नेकपाका ठुला नेताहरुको मति सुधार्न ऐना बनोस भन्ने कामना छ। छिटोभन्दा छिटो राजनितीक सहमति बनोस भन्ने चाहना भएका नागरिकमाथि तुसारो नबर्सोस, सदबुद्दी पलाओस । पक्ष, विपक्ष, प्रतिपक्ष सबैको जय होस !

Previous articleभ्रामक समाचारप्रति डुडुवाकाे गम्भीर ध्यानाकर्षण
Next articleपूर्व मन्त्री राई निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here