महिला शिक्षामा जोड दिन आवश्यक : उपमेयर थापा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परसपुरमा नयाँ भवन र व्यवस्थापनका साथ रामगोपाल ईग्लिस मिडियम स्कुल मंगलबार संचालनमा आएको छ । श्री पञ्चमी एवं सरस्वती पुजाको अवसर पारेर एक कार्यक्रमका बीच नयाँ व्यवस्थापनका साथ बिद्यालयको उद्घाटन गरिएको हो ।

बिद्यालय भवनलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उद्घाटन गर्नुभएको थियो । शिक्षा नै सबैथोक भएकाले यसको गुणस्तरीयताका बारेमा ध्यान दिनुपर्ने भन्दै महिला शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । “मधेशी समुदायमा महिलाहरुको शिक्षा स्तर कम छ, जसले गर्दा अगाडी बढ्न गाह्रो भइरहेको छ, ” उपमेयर थापाले भन्नुभयो, “महिलाहरुमाथि आइरहने बिभिन्न बाधाहरुलाई कम गर्ने हो भने उनीहरुलाई शिक्षित बनाउन आवश्यक छ ।”

बिद्यालय शिक्षाको मन्दिर भएकाले संरक्षण तथा संम्बद्र्धनका लागि अभिभावकहरुको पनि साथ आवश्यक रहेको वक्ताहरुको जोड दिएका छन् । शिक्षाले नै समग्र समस्याको समाधान हुने भएकोले शिक्षा र राजनीति एक अर्काको परिपुरक पनि रहेको वक्ताहरुको भनाई थियो । पूर्व सांसद तथा नेपाली काँग्रेस महासमिति सदस्य बादशाह कुर्मी, महासमिति सदस्य राजकुमार बर्मा, महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, १७ नम्बरका वडा अध्यक्ष अजय कुमार पाठक र शिक्षक संघ बाँकेका नेता मुनिर अहमद खाँले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

बिद्यालयले सोही अवसरमा निःशुल्क भर्ना अभियान, निःशुल्क पोसाक र गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई मासिक शुल्कमा छुट प्रदान गर्ने निर्णय गरेको बिद्यालय संचालन समितिका अध्यक्ष रामजस बर्माले जानकारी दिनुभयो । रामगोपाल इग्लिस मिडियम स्कुलका संरक्षक रामगोपाल बर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । बिद्यालय संचालनको पहिलो दिन नै भर्ना अभियान शुरु गरिएको छ । नसरीदेखि ८ कक्षासम्म नयाँ व्यवस्थापनका लागि बिद्यालय संचालनमा आएको जनाइएको छ ।

Previous articleपूर्व मन्त्री राई निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गर्दै
Next articleठुलाे आवाजमा गीत बजाउने ३२ वटा रिक्सा कारवाहीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here