
नेपालगञ्ज । नेपालगञ्जका युवा क्लबका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गरिएको छ । उनीहरुलाई एक ठाउँ जम्मा गरी दुई दिने तालिममार्फत क्षमता अभिबृद्धि गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका सेफ द चिल्ड्रनको सहयोगमा सामाजिक बिकास मञ्च बाँकेले नेपालगञ्जमा संचालित युवा शसक्तिकरण बुलगारी परियोजना अन्तर्गत आयोजना गरेको तालिममा नेपालगञ्जका बिभिन्न वडाहरुमा रहेका युवा क्लबका पदाधिकारी तथा नेपालगञ्जका ७ वटा बिद्यालयमा रहेका बाल क्लबका पदाधिकारीहरु सहभागिता रहेको थियो ।
तालिमको समापनमा बोल्दै नेपालगञ्जका उपमेयर उमा थापा मगरले नेतृत्वका लागि अगाडी बढ्नुपर्ने बताउँदै खासगरी युवा महिलाहरु अगाडी आउन अनुरोध गर्नुभयो । उहाँले देशको भविष्य बनाउने कुरामा युवाहरु नै सबैभन्दा मुख्य व्यक्ति भएकोले आफ्नो क्षमता बिकास, आवश्यक ज्ञान सीप हासिल गर्न तथा नेतृत्व लिने कुरामा पछि नपर्न उहाँले सबै युवालाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, सेफ द चिल्ड्रनका परियोजना अधिकृत फुल कुमारी चौधरी, मञ्चका बरिष्ठ उपाध्यक्ष घनश्याम उपाध्याय र मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले बोल्नुभएको थियो । क्षमता अभिबृद्धि तालिमलाई आशिष बर्माले सहजीकरण गर्नुभएको तालिममा नेपालगञ्ज वडा नं २, ६, ८, १२, १३ र २१ मा रहेका युवा तथा नेपालगञ्जका बिभिन्न बिद्यालयमा रहेको बाल क्लबहरुका पदाधिकारीको सहभागिता रहेको मञ्चका जीविकोपार्जन अधिृकत सहजराम यादवले जानकारी दिनुभयो ।
योजना तर्जुमामा सक्रिय बनाउन, स्थानीय तहसंग जोडिएर अघि बढ्न र युवाहरुको मुद्दा वा सवालमा उनीहरुलाई आफै अग्रसर हुनका लागि तालिम प्रदान गरिएको मञ्चका शिक्षा अधिृकत बृजेश ठाकुरले बताउनुभयो । मञ्चले नेपालगञ्जमा सन २०१६ देखि नै जिवीकोपार्जन, आयआर्जन, स्वरोजगार, उद्यम बिकास र शिक्षाको स्तरलाई उकास्न बिभिन्न प्रकारको कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।





