प्लाज्मा थेरापी विधि र रेम्डेसिभिरको प्रयोग प्रभावकारी : स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि रेम्डेसिभिर र प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अवलोकन अध्ययन प्रतिवेदन अनुसार ती दुवै उपचार विधि पाउने संक्रमितमध्ये ७४ प्रतिशतको स्वास्थ्य अवस्था राम्रो देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीहरुको उपचारमा कन्भलेसेन्ट प्लाज्मा थेरापी विधि र रेम्डेसिभिर नामक औषधिको प्रयोगको प्रभावकारिताबारे अध्ययन गर्ने जिम्मेवारी परिषद्लाई दिएको थियो । परिषद्ले मंगलबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा मध्यम संक्रमण भएकाहरुलाई रेम्डेसिभिरबाट उपचार गर्दा ९८ प्रतिशतभन्दा बढी निको भएको उल्लेख छ ।

यस्तै कन्भलेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका अधिकांश बिरामीको अवस्था जटिल देखिएको थियो । यो विधिबाट उपचार गरिएका बिरामीहरुको निको हुने दर ३९ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । रेम्डेसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिएका ५ प्रतिशत बिरामीमा भने प्रतिकूल असर देखिएको थियो भने डिस्चार्ज हुने समयमा उनीहरु पनि पूर्ण रुपमा निको भएको परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।

देशभरका ३० वटा अस्पतालका १ हजार ३१५ जना बिरामीलाई समेटेर परिषद्ले अवलोकन अध्ययन गरेको थियो । अध्ययनको क्रममा गम्भीर संक्रमण देखिएका बिरामीहरुलाई समावेश गरिएको र औसत उमेर ५५ वर्ष रहेको परिषद्ले जनाएको छ ।

Previous articleसंसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
Next articleसर्वोच्चको फैसलासंगै ठाउँ ठाउँमा दिप प्रज्वलन, नेपालगञ्जमा २१ किलो लड्डु बितरण (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here